१३ बैशाख २०८१, बिहीबार

शिशिर खनाल भन्छन्- जनताका समस्या समाधान गरेर राजनीतिलाई सेवा बनाउँछु

sisir khanal

काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका शिशिर खनालले जनताका समस्या समाधान गरेर राजनीतिलाई सेवाको रुपमा रुपान्तरण गर्ने बताएका छन् ।

सांसद भएर संसदमा प्रवेश गरेपछि निरन्तर जनताको सम्पर्क र माझमा रहेर उनीहरुको समस्यालाई समाधान गर्न आफू क्रियाशील रहने बताएका उनले युवा उद्यमशीलता र सरकारी विद्यालय शिक्षामा गुणस्तरमा विशेष जोड दिने बताए ।

टिच फर नेपाल संस्थाका सहसंस्थापक तथा उद्यमीसमेत रहेका खनालले शिक्षा र स्वास्थ्यको क्षेत्र सुधारका लागि केही कानुन आवश्यक रहेकाले ऐन ल्याउन पहल गर्ने बताए । उनका अनुसार आवश्यक शिक्षा ऐन नबन्दा लाखौं विद्यार्थीलाई असर गरेको छ ।

अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका खनालले युवा, शिक्षा, उद्यमशीलतामा काम गर्नुपर्ने बताए । यसमा आफ्नो जोड रहने उनको भनाइ छ ।

चुनावी प्रचारका क्रममा मतदाताले सडक र खानी पानी समस्याबारे जानकारी गराएकाले यसको समाधानका लागि पनि काम गर्नुपर्ने उनको भनाइ छ । यी सब काम गर्न जनताले आगामी निर्वाचनमा आफूलाई जनताले मत दिएर संसदमा प्रतिनिधिको रुपमा पठाउनुपर्ने उम्मेदवार खनालले बताए ।

सार्वजनिक नीति भएको र शिक्षाको क्षेत्रमा आफूले काम गरेकाले यही क्षेत्रमा आवश्यक नीति निर्माणको काम गर्ने उनले प्रतिबद्धता जनाए ।