१३ बैशाख २०८१, बिहीबार

एमाले अध्यक्ष र राष्ट्रपति अस्वीकार गरेको थिएँ: शेरचन

amik serchan

गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले आफ्नो बाँकी जीवन पनि राष्ट्रिय अखण्डता, स्वाभिमान र लोकतन्त्रका पक्षमा रहने बताउनुभएको छ ।

प्रदेश प्रमुखबाट सोमबार पदमुक्त शेरचनले आज आयोजित पत्रकार सम्मेलनमा लोकतन्त्र प्राप्तिका संघर्षमा आफू निरन्तर लागिरहेको बताउँदै आगामी दिनमा पनि देश र जनतालाई केन्द्रमा राख्दै प्राप्त उपलब्धिको रक्षार्थ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । संविधान, नियम र कानूनलाई आफूले सधैं प्राथमिकतामा राखेको बताउँदै उहाँले प्रदेश प्रमुखको जिम्मेवारीमा रहँदा पनि त्यही जिम्मेवारीलाई आत्मसात् गर्दै अघि बढेको स्पष्ट पार्नुभयो ।

आफू पदका लागि कहिल्यै नलागेको स्पष्ट पार्दै शेरचनले मनमोहन अधिकारीपछि नेकपा(एमाले)का अध्यक्ष र राष्ट्रपति डा रामवरण यादवपछि राष्ट्रपतिको जिम्मेवारीका लागि आएको प्रस्तावलाई आफूले अस्वीकार गरेको जिकिर गर्नुभयो । माक्र्सवाद, लेनिनवाद र माओ विचारधारा प्रति आफू सधैँ प्रतिबद्ध भएको तथा सिद्धान्त र निष्ठाको राजनीतिलाई निरन्तरता दिंदै आएको धारणा उहाँले राख्नुभयो ।

राजनैतिक अस्थिरता र भ्रष्टाचार आदि बढ्दा देशलाई अघि बढ्न नदिने उहाँले स्पष्ट पार्नुभयो । कोरोना महामारीका परिस्थितिमा सम्पूर्ण राजनीतिक दलबीच साझा सहमति र सहकार्यमा देशव्यापी सचेतना अभियान चलाई जनताको जीउधनको रक्षा गर्नुपर्नेमा जोड दिंदै उहाँले वर्तमान अवस्थामा पार्टी पार्टीबीचको फुट तथा पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुबाउन नहुने विचार उहाँले व्यक्त गर्नुभयो ।

प्रदेश प्रमुखको जिम्मेवारीमा रहँदा सहयोग गर्ने प्रदेश सरकार, राजनीतिक दल लगायत सम्पूर्णमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

सोमबारको मन्त्रिपरिषद्को बैठकले शेरचनलाई गण्डकी प्रदेश प्रमुखबाट मुक्त गरी सीताकुमारी पौडेललाई नियुक्त गरेको थियो ।