६ बैशाख २०८१, बिहीबार

भारतमा मास्क नलगाउने प्रहरीलाई साङ्लोले बाँधेर कारवाही !

chaine policeindia

कोरोना भाइरस सम्बन्धी मापदण्ड पालना नगर्दा केही कारवाही पनि हुन्छ ? भारतको कर्नाटकामा भने यस्तो घटना भएको छ, जहाँ एक प्रहरीले मास्क नलगाएकै कारण कडा कारवाही भोग्नु परेको छ ।

माओवादीविरुद्ध कोब्रा तालिम प्राप्त ती प्रहरी गाउँमा बिदा मनाउँदै थिए । आफ्नै गाउँ बेलागभीमा सिभिल पोशाकमै डुलिरहेका बेला अचानकक प्रहरी टोलीसँग उनको जम्काभेट भयो ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणबाट बच्न सबैलाई मास्क लगाउन, साबुनपानीले हात धुन, नियमित ज्वरो परीक्षण गर्न आग्रह गर्दैआएको छ । यसवाहेक अन्य विभिन्न मापदण्ड तोकिएको छ । तर यस्ता मापदण्ड पालना नगर्दा कानुनी कारवाही नै भने हुँदैन ।

स्थानीय प्रहरी टोली लकडाउन तथा कोरोना भाइरसविरुद्ध मापदण्ड पालना गराउन खटिएको थियो । यस क्रममा मास्क नलगाइकन डुलिरहेका सचिन सावन्त नामका ती प्रहरीको जम्काभेट ड्युटीमा खटिएको प्रहरी टोलीसँग भयो ।

यस्तो देखेपछि सावन्तमाथि थप सोधपुछ गरियो । सावन्तले भने आफू पनि प्रहरीको मान्छे भएकाले आफू यस्तो नियम पालना नगर्ने भन्दै अटेरी गरे । सिआरपीएफ अन्तर्गत रहेका सावन्त सशक्त तालिमप्राप्त प्रहरी रहेको पनि बुझिएको छ ।

उनै प्रहरी पछिल्लो केही दिनयता साङ्लोले बाँधिएको अवस्थामा भुइँमै बसिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । स्थानीय मिडियाका अनुसार ती प्रहरीलाई प्रहरी कार्यालयमै यसरी कारवाही गरी राखिएको हो ।

अप्रिल २३ मा उनलाई पक्राउ गरी राखिएको बताइएको हो । हथकडी लगाएर यसरी राखिनु अमानवीय व्यवहार भएको भन्दै प्रहरीको आलोचना पनि गरिएको छ । स्थानीय प्रहरी कार्यालयले सावन्तलाई प्रहरी हवल्दारले भेट्दा उनी मास्क विना रहेको जनाएको छ । प्रहरीले उनलाई मुद्दा दायर गर्नुका साथै न्यायीक हिरासतमा राखेको जनाएको छ । तर स्थानीय प्रहरी प्रवक्ताले यस घटनाको छानविन हुने बताएका छन् ।