६ जेष्ठ २०८१, आईतवार

खेल नै नखेली हार्छौं वा आफ्नो लक्ष्यमा पुग्दैनौ भन्नु कतिको उचित हुन्छ ?

60fd0b6b409fd coach
फाइल फोटो

नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबारदेखि दशरथ रंगशालामा बन्द प्रशिक्षण सुरु गरेको छ । जसमा टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अल्मुताईरीले नेपाल एएफसी एसियन कपमा छनोट हुन नसक्ने बताएका छन् ।

सास रहुन्जेल आश रहन्छ’ भन्ने नेपालीमा एउटा चर्चित उखान छ । जुन उखानले हरेक कुरामा अन्तिम घडीसम्म पनि आश राख्न पे्ररित गर्छ । यो उखान प्रत्येक व्यक्तिले आफ्नो जीवनमा कहि कतै अनुभव पनि गरेका छौं, सायद । कहिले त्यो आशले निराश बनायो होला, त कहिले त्यो आशले आत्माविश्वास दिएको होला ।

खेल नै नखेली हार्छौं वा आफ्नो लक्ष्यमा पुग्दैनौ भन्नु कतिको उचित हुन्छ ? नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताईरीले यस्तै खालको प्रतिक्रियाका कारण यतिवेला विवादित बनेका छन् ।

नेपालले एसिया कपमा स्थान बनाउने ठूलो सपना देखेपनि वास्तविकतामा त्यो सम्भव नरहेको अल्मुताईरीले अभिव्यक्ति दिएका छन् । नेपाल रहेको समूह ए मा जोर्डन, कुवेत र इन्डोनेसिया जस्ता बलियो प्रतिद्वन्द्वी रहेकाले नेपाल छनोट हुन नसक्ने उनले बताए । युद्धमा जानु पूर्व नै सेनापतीले आत्मसर्मण गर्नु कुनै पनि अर्थमा जायज मान्न सकिँदैन ।

नतीजा चाहे जे जस्तो होस्, युद्ध लड्नु योद्धाको धर्म हो । प्रशिक्षक अल्मुताईरीलाई पनि थाहा भएको कुरा हो कि फुटबलमा असम्भव भन्ने कुरा पनि सम्भव हुन सक्छ । हालसालकै कुरा गर्ने हो भने पनि गत राति युरोपा लिगको खेलमा स्पेनिस क्लब बार्सिलोनालाई जर्मनी क्लब फ्रांफर्टले उसैको घरेलु मैदानमा ३–२ ले पराजित गरेको थियो ।

त्यस्तै, विश्व फुटबलको पावर हाउस जर्मनीलाई दक्षिण कोरियाले हराएको इतिहास पनि खेलप्रेमीले भुलेका छैनन् । नेपाली फुटबल प्रेमीसामु राम्रो छवि बनाएका अल्मुताईको खेल खेल्नुअघि नै जस र अपजस भागबण्डा लगाउने बानी छ ।

अहिले उनको यो अभिव्यक्ति पनि त्यही छविलाई कायम राख्नका लागि दिएको भन्ने सहजै अनुमान गर्न सकिन्छ । असफल भए त्यसको अपजस आफू बोक्ने र सफलताको जस खेलाडीलाई दिने उनको यो रणनीतिले यसअघि पनि काम गरेको देखिन्छ ।

अल्मुताईरीको प्रवृत्तिलाई दर्शकहरुले खुलेर प्रशंसा गर्दा उनी खेलको बोली बोल्ने भन्दा पनि दर्शक रिझाउने बोली बोल्ने गरेको स्प्रष्ट हुन्छ ।

प्रारम्भिक चरणमा नै फुटबलप्रेमीलाई ठूलाठूला महत्वाकांक्षा देखाउनु भन्दा पहिलेनै सम्भावित नतीजाको दर्शकलाई जानकारी दिनु अल्मुताईरीको रणनीतिक अन्तर्गत पूर्वयोजना नै भन्दा फरक पर्दैन । यस्तो रणनीतिका कारण टिमले आशातित प्रतिफल प्राप्त नगरे पनि नेपाली फुटबलप्रेमीहरु हारलाई पनि सन्तोषजनक मान्न बाध्य छन् ।