२४ बैशाख २०८१, सोमबार

किचलो मच्चिएपछि चुनावी तालमेल संकटमा

gathabandhan

दलहरुबीच आपसमा बढ्दै गएको अविश्वासकै कारण चुनावी तालमेल संकटमा परेको छ । निर्वाचन आउन एक महिना पनि बाँकी छैन तर गठबन्धनका दलहरुबाट तालमेल विरोधी अभिव्यक्ति आइरहेका छन् ।

यसले गठबन्धने भविष्य नै संकटमा परेको छ । ‘आफ्नो दिउँ त मै मरिजाउँ, अर्काको पाए तीनमाना खाउँ’ तालमेलमा भागबण्डाकै विषयले किचलो मच्चिएपछि गठबन्धन संकटमा परेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार पार्टी नेताहरुसँग छलफल गर्दै माधव नेपालको पार्टीले औकातभन्दा बढी भाग खोजेको दाबी गरे ।

जसले विगत दुई बर्षयताको झांगिएको प्रचण्ड–माधव सम्बन्धमा खटपटको मात्रै संकेत गरेन, बाँडफाँडकै विषय गठबन्धन थप संकटमा परेको पनि देखायो । किनकि प्रचण्डले अवस्था यही रहे सबै ठाउँमा तालमेल नहुने समेत दाबी गरेका छन् ।

सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली काँग्रेससँग बढीभन्दा बढी भागमा बाग्रेनिङ गर्ने प्रचण्डले तयारी गरेका बेला काँग्रेसभित्र तालमेलको विषयले अर्काे झमेला थपेको छ ।

केन्द्रकै मत दुईधारमा बाँडिएका बेला तल्लो तहका काँग्रेस नेता– कार्यकताले विद्रोहको संकेत गरेका छन् । वीरगञ्जमा काँग्रेसका नेताहरुले देउवाको रैती नभएको भन्दै एक्लै भिड्ने दाबी गरेका छन् ।

संखुवासभाको काँग्रेसले माओवादीसँग तालमेल नगर्ने निर्णय नै गरेको छ । काठमाडौंमा मेयर र वडाध्यक्ष छोड्नुपरे विद्रोह हुनसक्छ नेताहरुले चेतावनी दिएका छन् ।

चितवन काँग्रेस केन्द्रको निर्णय विपरित गएपछि प्रधानमन्त्री देउवाले सर्कुलर नै जारी गरेर उम्मेद्वार छनोट प्रक्रियामा हस्तक्षेप गरेका छन् । विधानको अधिकारमाथि नै रोक लगाउन खोजेको भन्दै स्थानीय नेता कार्यकर्ता रुष्ट छन् ।

नुवाकोटमा माओवादी कार्यकर्ता काँग्रेसमा प्रवेश गर्न थालेपछि देउवा र प्रचण्डबीच वार्ता भएर ठाडो आदेशमा रोकिएको छ । काँग्रेसले आफ्ना बलिया क्षेत्रमा माओवादी लगायतका दललाई हेपाहा तरिकाले हेरिरहँदा रोल्पामा माओवादी एक्लै चुनाव लड्ने तयारी गरेको छ । जहाँ काँग्रेसले आधा हिस्सा माग गरेको छ ।

बर्दियामा जसपाले एक्लै लड्ने उद्घोष गरेको छ । एमालेले जितेको मतभार आफ्नो रहेको भन्दै एकीकृत समाजवादीले आफ्नो दाबी तेस्र्याएको छ । फलतः जोरजुलमबाट चलेको गठबन्धन बचाउनै संकट परेको छ ।

चुनावी तालमेल भाँडिएपनि गठबन्धन बचाउनुपर्ने मत नेपाली काँग्रेसका नेताहरुले राखिरहेका छन् । गठबन्धन र तालमेलको संस्कृति हितकर छैन भनेर काँग्रेस महामन्त्री गगन कुमार थापाले भनेका छन् । अधिकांश कांग्रेसीको मत त्यही छ । त

थापी अहिलेको अवस्थामा प्रचण्डलाई रिझाएर गठबन्धन र सरकार बचाउने तर तालमेल भाँडिए फरक पर्दैन भन्ने निष्कर्षमा काँग्रेस पुगेको छ । तर चुनावी तालमेल नभए गठबन्धनको पनि औचित्य छैन भन्ने निष्कर्ष माओवादीसहितका दलहरुको छ ।