१५ बैशाख २०८१, शनिबार

हजार पटक सोच्नुस् चुनावमा भोट दिँदा: राजेन्द्र लिङदेन

rajendr

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले ३२ वर्ष मौका पाउने नेता तथा दलहरुले जनताले अनुभूति गर्ने गरि देशको विकास हुन नसकेको बताउनुभएको छ ।

भरतपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले साँढेको टाङमुनि बाल्टी थापेर दूध नआउने प्रसङ्ग सुनाउदै ठुला भनिने दलहरुलाई भोट दिएर देश बन्छ भनेर सोच्नु गलत हुने बताउनुभयो । उहाँले अब विकल्प सोच्ने बेला आएको बताउनुभयो ।

चुनावलाई ख्यालख्याल नठानौँ,उहाँले भन्नुभयो, भोट दिनुभन्दा अगाडी हजार पटक सोच्नुस्, बाउबाजेको पार्टी भनेर भोट नदिनुस्, ठिक पार्टी र ठिक नेता चुन्नुपर्छ । गएका चुनावहरुमा ठिक पार्टी र नेता चुन्न नसक्दा देश र जनताले दुःख पाएको बताउनुभयो ।

जनतालाई गाइगोठको वस्तु ठान्ने नेताहरुले जनताका समस्या हल गर्नै नसक्ने बताउनुभयो । ३२ वर्षदेखि शासन गरेका दलहरु प्रति देखेर दया लागेको बताउनुभयो । उहाँले बन्न नसकेका पालिकाहरुको नेतृत्व गर्न एकचोटि राप्रपालाई दिनुपर्ने बताउनुभयो ।

देश कस्तो बनाउने तीनै पालिकाको विकास गरेर देखाउँछौँ, उहाँले भन्नुभयो,नमुना पालिका बनाउनेछौँ । उहाँले असफल पार्टीहरुलाई यसपालि विदाइ गर्नुपर्ने बताउनुभयो ।