१३ बैशाख २०८१, बिहीबार

दलहरुभित्र विद्रोह र अन्तर्घातको सम्भावना

all party

स्थानीय तहको चुनाव नजिकिदै गर्दा कुनैपनि दल एक्लै निर्वाचनमा भाग लिने पक्षमा देखिदैनन् । एक्लै चुनाव लड्ने दाबी गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव तालमेलको सहमति गरिसकेका छन् । उनले राप्रपा नेपाल र परिवार दलसँग चुनावी तालमेलको सहमति बनाइसकेका छन् । अन्य दलहरुसँग पनि तालमेलको सहमति पहल गरिरहेका छन् ।

सत्तामा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा चुनावमा तालमेल गर्ने सहमतिमा पुगिसकेका छन् । उनीहरुबीच स्थानीय तहमा विभिन्न पदमा कुन दलको उम्मेदवार कहाँ कुन पदमा उठाउने सहमति भने बनिसकेको छैन । पाँच दल मिलेर चुनावमा एमालेविरुद्ध लड्ने भएसँगै देशमा अब विभिन्न शक्ति विभाजित नभई दुई शक्तिबीच चुनावी प्रतिष्पर्धा हुने माहोल तयार भएको छ ।

सत्ता गठबन्धन एकातर्फ र एमालेसहितको गठबन्धन अर्कातिर हुने भएका छन् । एमालेले महन्थ ठाकुर नेतृत्वको लोसपा, सीके राउतको दल देखि विप्लव समूहलाई पनि समेटेर चुनावमा भाग लिने तयारी गरिरहेको छ । यसरी कुनै एक दल एक्लै नलड्ने भएका छन् ।

चुनावमा गठबन्धन त बन्ने भएको छ तर त्यसले दलहरुभित्र विद्रोहको सम्भावना बढेको छ । एमालेले राप्रपा नेपाल र परिवार दलसँग तालमेल गरेपछि डा. भीम रावलले कडा विरोध गरेका छन् । उनले सूर्य चिन्ह विक्रीमा राखेको भन्दै व्यङ्ग्यात्मक आलोचना गरेका छन् । गठबन्धन हुँदा एमालेका कतिपय उम्मेदवार टिकटबाट वञ्चित हुनुपर्ने हुनसक्छ । अर्कोतर्फ, टिकट नपाएकाहरुले विद्रोह गर्ने सम्भावना पनि छ । एमालेभित्र त्यस्तो संकेत देखिन थालेको छ ।

गठबन्धनको नेपाली काँग्रेसभित्र चुनावी तालमेलको विरोध भइरहेको छ । काँग्रेसभित्र टिकट नपाउनेको विद्रोह विगतमा पनि देखिदै आएको छ । यसपटक झन् टिकट नपाउनेले विद्रोह गर्न सक्छन् । काँग्रेसका भरतपुर र पोखराका कार्यकर्ताले तालमेल गर्दा मेयर नपाए नमान्ने भनिसकेका छन् । यसले उक्त पार्टीमा नयाँ विद्रोहको संकेत देखिन थालेको छ ।

माओवादीभित्र पनि टिकट नपाउने असन्तुष्टहरुको विद्रोहको सम्भावना छ । टिकट नपाउने सम्भावना देखेर कतिपयले पार्टी परिवर्तन गरिसकेका छन् । नेकपा एसमा पनि टिकट नपाउनेहरुको विद्रोह हुनसक्छ । जसपा र लोसपामा पनि त्यही सम्भावना छ । यसपटकको चुनाव अगावै धेरै विद्रोहका घटनाहरु देखिन सक्छन् ।