२६ बैशाख २०८१, बुधबार

नेपालको चालु खाता ४ खर्ब ६२ अर्ब ९३ करोड घाटामा, निर्यात ८२.९ प्रतिशतले बढ्यो

rastrabank

देशको चालु खाता ४ खर्ब ६२ अर्ब ९३ करोडले घाटामा रहेको जानकारी सहित नेपाल राष्ट्र बैंकले चालु खाता एवं शोधनान्तर स्थितिबारे जानकारी दिएको छ ।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था बारेको ८ महिने समीक्षा रिपोर्टमा यसबारे जानकारी दिइएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ५१ अर्ब ४२ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ८८ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१.२ प्रतिशतले कमी आइ रु.७ अर्ब कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६०.० प्रतिशतले वृद्धि भई रु.१६ अर्ब ३० करोड पुगेको छ । यस्तै यसै अवधिमा विप्रेषण आप्रवाहमा कमी आएको छ भने विदेशी विनिमय सञ्चिति थप झरेको छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह १.७ प्रतिशतले कमी आइ ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.७ प्रतिशतले बढेको थियो । यस्तै आयात ३८.६ प्रतिशत र निर्यात ८२.९ प्रतिशतले बढेको पाइएको राष्ट्र बैंकले जनाएको छ । आठ महिनामा कुल वस्तु निर्यात ८२.९ प्रतिशतले वृद्धि भई रु १ खर्ब ४७ अर्ब ७५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७.८ प्रतिशतले वृद्धि भएको थियो ।

चालू आवको फागुन महिनामा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ७.२६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क १.८९ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः ९.४४ प्रतिशत र ६.६४ प्रतिशतले बढेको बैंकले जनाएको छ ।