१४ बैशाख २०८१, शुक्रबार

ग्यास र बिजुली निकाल्न सकिन्छ काठमाडौँको फोहोर व्यवस्थापन गरी: प्रधानमन्त्री देउवा

deuba 5

प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोर व्यवस्थापन गरी काठमाडौँलाई सुन्दर सहर बनाउनुपर्ने बताएका छन् ।

मंगलबार सहरी विकास मन्त्रालयले काठमाडौँमा आयोजना गरेका ‘राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठी’को उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले काठमाडौको फोहोर व्यवस्थापन नहुँदा सबैलाई लाजमर्दा कुरा भएको बताए ।

फोहोर व्यवस्थापनमा विभिन्न वैकल्पिक उपाय अपनाउनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सुन्दर बनाउन सबै मिलेर काम गर्नुपर्ने बताए ।

“फोहोर व्यवस्थापनबाट ग्यास र बिजुली निकाल्न सकिन्छ भन्ने मैले धरानमा देखेर आएको छु,” उनले भने,“यसबाट सहरका बासिन्दाले फाइदा लिन सक्नेछन् । काठमाडौँलाई सुन्दर सहर बनाउन सकिन्छ । यसमा सबै मिलेर काम गरौँ । सुन्दर सहर काठमाडौँमा जताततै फोहोर फाल्दा हामी सबैका लागि लाजमर्दो कुरा भएको छ ।”

त्यस्तै, प्रधानमन्त्री देउवाले युटिलिटी करिडोरको अवधारणा कार्यान्वयन गर्न ठुला सहरमा आगामी वर्षदेखि नै पाइलट प्रोजेक्ट सुरु गरिने बताए । सहरीकरणमा देखिएमा समस्या तथा चुनौतीहरुलाई सम्बोधन गर्न नयाँ सहरी नीतिमार्फत् समुन्नत राष्ट्रिय सहरी विकास र सहरी प्रणालीको विकास गर्नुपर्ने उनले बताए ।

फरक प्रशंगमा प्रधानमन्त्री देउवाले निर्वाचनसम्बन्धी आचारसंहिता लागु भइसकेकाले त्यसलाई ध्यान दिन पनि सबैलाई आग्रह गरे । आगामी दिनमा सरकारी कार्यक्रमहरु आचारसंहितालाई ध्यानमा राखेर गर्नुपर्ने उनको भनाइ छ ।