Close Me
१३ माघ २०८१, आईतवार

राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : सभापति देउवा

deuba and NC leader

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सहमतिका आधारमा संविधान संशोधन गर्ने बताएका छन् ।

पार्टीको कोशी प्रदेश सम्मेलनमा सहभागी हुन आज विराटनगर पुग्नुभएका सभापति देउवाले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै जसरी सहमति जुटाउन सकिन्छ सोहीअनुसार संविधान संशोधन हुने प्रष्ट पारे।

सभापति देउवाले पार्टीमा उत्तराधिकारी तोक्ने समय आइनसकेको समेत बताए । उनले समयमै पार्टीको महाधिवेशन हुनेमा आश्वस्त हुन आग्रह गरे । यस्तै देउवाले बीआरआईमा ऋण नलिएको समेत दाबी गरेका छन् ।

यसैगरी, सभापति देउवाले राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् । उनले संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक भएकाले दलहरुबीच वार्ता एवं सहमति कायम गर्ने प्रष्ट पारे ।

देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा ऋण सम्बन्धी सम्झौता नभएको उल्लेख गरे ।

वर्तमान गठबन्धन सरकारप्रति जनताको कुनै असन्तुष्टि नभएको सभापति देउवाको भनाइ थियो । मुलुकमा राजनीतिक स्थायीत्व कायम हुनुका साथै मुलुक समृद्धितर्फ अगाडि बढेको उनको धारणा थियो । सभापति देउवाले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र निर्वाचनवाट नेतृत्व चयन हुने बताए । उनी शनिबार विराटनगरमा हुने कांग्रेसको प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन यहाँ आएको हो ।