५ जेष्ठ २०८१, शनिबार

अपहरण उजुरी दिन समाजवादीका नेता टेकुमा – प्रहरीले लिएन उजुरी, प्रहरी र नेताहरुबीच चर्काचर्की

samajwadi teku
फोटो विश्वदिप पाण्डेको ट्विट्टर बाट

जनता समाजवादी पार्टी नेपालले आफ्ना सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपमा संघीय सांसद तथा पूर्वमन्त्री महेश बस्नेत, सांसद किसन श्रेष्ठ र निर्वतमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बिरुद्ध किटानी जाहेरी दिन महानगरीय प्रहरी परिसर टेकु पुगेकाे छ ।

प्रक्रिया अघि बढाउन पार्टीका शीर्ष नेताहरु डा बाबुराम भट्टराई, राजेन्द्र महतो, उपेन्द्र यादव र पीडित सुरेन्द्र यादव नै महानगरीय प्रहरी परिसरमा पुगेका थिए । निर्वतमान महानिरीक्षक खनाल र सांसदद्वय बस्नेत र श्रेष्ठले यादवलाई गएको बुधबार महोत्तरी घरबाट अपहरण गरेर काठमाडौं ल्याई मेरियट होटलमा रातभर बन्धक बनाएको जाहेरीमा उल्लेख छ ।

मुलुकी अपराध संहिता ऐन २०७४ को भाग-२, परिच्छेद – १७ मा कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई नियन्त्रणमा लिन नमिल्ने व्यवस्था गरेको छ। यस्तो कार्यलाई अपहरण मानिएको छ।

अपहरणमा परेका भनिएका यादवले आफूलाई अपहरण गरेको नभने पनि झुक्याएर, दबाबमा काठमाडौं ल्याएको बताउँदै आएका छन्। खनालसहित दुई सांसदले महोत्तरी गएर यादवलाई ल्याएको स्वीकार गरिसकेका छन्।

जाहेरी लिन प्रहरीले अस्वीकार गरेपछि काठमाडौँ प्रहरी परिसरमा प्रहरी अधिकारीहरु र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत नेताहरुबीच चर्काचर्की भएको छ। मुद्दा फाँटका डीएसपी कृष्ण चन्दले घटना महोत्तरीमा भएकाले उतै जाहेरी दिनुपर्ने भन्दै जाहेरी लिन मानिरहेका छैनन्। काठमाडौँ प्रहरी प्रमुखका रुपमा आइतबार नै पदबहाली गरेका एसएसपी श्याम ज्ञवाली भने अहिले मेट्रो प्रहरी पुगेका छन्।

नेताहरुले भने लकडाउनका बेला महोत्तरी गएर जाहेरी दिन असम्भव हुने भन्दै जाहेरी लिन आग्रह गरिरहेको बुझिएको छ।