२७ बैशाख २०८१, बिहीबार

उत्तर कोरियाका शासक किमको निधनको हल्ला, के हो वास्तविकता

GettyImages kim jong un nuclear warning 1035996238 1

उत्तर कोरियाका शासक किम जोङ उनको स्वस्थ्यको बारेमा विभिन्न अडकलबाजी हुन थालेका छन्। उनी बिरामी भएको समाचार केही दिनअघि सार्वजनिक भएको थियो। विभिन्न सञ्चारमाध्यमले ३६ वर्षीया उनको स्वस्थ्य समस्याका कारण मृत्यु भएको जनाएका छन्।

शनिबार रातिदेखि उनको मृत्युको समाचार भाइरल भइरहेको छ। यसैबीच, दक्षिण कोरियाली सञ्चारमाध्यमले उनको हार्ट सर्जरी गरेको र अहिले स्वस्थ्य रहेको जनाएका छन्। उनी एक रिसोर्टमा आराम गरिरहेका र रिसोर्टमा घुमफिर समेत गरिरहेका जनाइएको छ।

चीनका सञ्चारमाध्यमहरुमा पनि किमलाई लिएर विभिन्न अड्कलबाजीका समाचार आइरहेका छन्। चीनले चिकित्सकको एक टोली उत्तर कोरिया पठाएको समेत बताइएको छ। चीनको मेडिकल टिमका एक सदस्यले जापानको म्यागेजिनलाई बताए अनुसार, किमको केही महिनादेखि मुटुको समस्या देखिएको थियो। केही दिनअघि उनी रिङ्गटा (चक्कर) लागेर ढलेका थिए। त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको एक सर्जरी भइसकेको बताइएको छ। अब उनको मुटुमा स्टेन्ट लगाउनुपर्ने हुनसक्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत किम बिरामी भएको खबर गलत रहेको बताएका थिए। किमको स्वास्थ्य अवस्था कस्तो छ यसबारे यकिन जानकारी भने आइसकेको छैन। उत्तरकोरियामा महिला शासक आउन सक्ने विभिन्न सञ्चारमाध्यमले अड्कलबाजी गरिरहेका छन्।

वनसनमा देखियो उनको रेल, चीनबाट चिकित्सकको टोली उत्तर कोरियातिर

किम जोङ उनको स्वास्थ्यको विषयमा अन्तर्राष्ट्रिय रुपमा चर्चा चलिरहँदा त्यहाँका सरकारी मिडिया भने उनको अवस्थाका बारेमा मौन छन्।

शनिवार उत्तर कोरियाको कोरियन पिपल्स रिभोलुसनरी आर्मी (केपीआरए)को ८८ औं वार्षिकोत्सव। त्यस कार्यक्रममा पनि किमको उपस्थिति देखिएन। उत्तर कोरियाली मिडियाले किमको स्वास्थ्य अवस्था बारेभन्दा पनि केपीआरएको स्थापना दिवसको विषयमा चर्चा गरेको दक्षिण कोरियाको समाचार एजेन्सी योन्हापले जनाएको छ।

अप्रिल ११ देखि सार्वजनिक रुपमा नदेखिएका उनको विषयमा मृत्युसम्मको चर्चा चलिसक्दा पनि उत्तर कोरिया भने यस विषयमा मौन छ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)ले आर्मीको स्थापनासम्बन्धी जानकारी गराएको छ। तर, सेनाका प्रमुखसमेत रहेका किमको विषयमा केही उल्लेख गरेको छैन।

जापान विरोधी युद्धका क्रममा किमका हजुरबुबा किम इल सङले स्थापना गरेको ‘जनताको गुरिल्ला सेना’ देखि अहिलेको आधुनिक सैनिकसम्मको इतिहास केसीएनएले देखाएको छ।

त्यस्तै, त्यहाँको सत्तारुढ पार्टीको मुखपत्र रोडौङ सिनममको सम्पादकीयमा नेता किम जोङ उनले सैन्य शक्ति बढाउन जोड दिएको भन्दै नेतृत्वलाई सैन्य समर्थन थप बलियो भएको बताएको उल्लेख छ।