१६ चैत्र २०८०, शुक्रबार

विभिन्न ठाउँमा हावाहुरीसहित वर्षा भएसँगै प्रदुषण कम हुने सम्भावना

weather aajko mausam

देशका विभिन्न ठाउँमा हावाहुरीसहित वर्षा भएसँगै केहीदिनदेखि बढेको प्रदुषण कम हुने अनुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले विशेषगरी प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसले केही दिनयता बढेको प्रदुषण थोरै भएपनि कम हुने महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

यस्तै राति प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले सीआइएनलाई जानकारी दिनुभयो । भोलिदेखि भने मौसम सफा भएर गर्मी बढ्नेछ ।