१५ बैशाख २०८१, शनिबार

टाउको दुखाई बन्दै प्रचण्डको चितवन, कांग्रेसको अडान रेणुलाई भोट नहाल्ने

deuba prachanda
फाइल फोटो

सत्ता गठबन्धन चुनावी तालमेल सहित अघि बढ्ने निर्णयमा पुगेसंगै चितवन ईपिसेन्टर बनेको छ । महानगरपालिकाको तालमेल बारे केन्द्रबाटै निर्णय गर्ने कांग्रेसको तयारी र कसै गरे त्यो नमान्ने जिल्लाका नेताहरुको कारण चितवनको वाडफाड पेचिलो बन्न लागेको हो ।

जसले गठबन्धनको भविष्य माथि नै प्रश्न उठाएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रचण्ड पुत्री रेणु दाहाललाई जिताउन मतपत्र नै चपाएको घटनाले माओवादीलाई मात्रै हैन कांग्रेसलाई पनि धेरै गिजोल्यो । महानगरको २ वडा मात्र जितेको माओवादी कांग्रेसकै कारण नेतृत्वमा पुग्यो ।

तर यो बाध्यतालाई चितवनका नेता र कार्यकर्ताले आफ्नो अपमान ठाने । आफु बलियो भएकै ठाँउमा आफ्नै अनुहारमा दाग पोतेर जिताएको त्यहि माओवादीले संसदीय चुनावमा भने एमालेसंग गठबन्धन गरिदियो ।

तर यो विगत विर्सेर पुन माओवादी कै हातमा चितवनको नेतृत्व सुम्पिने र कांग्रेसीलाई हसिया हथौडामा भोट हाल्न लाउने अवस्था सिर्जना हुने भएपछि त्यहाँका नेता कार्यकर्ताले चितवन बाहेक अन्य महानगरमा मात्र गठबन्धन गर्न दबाब दिदै आएका छन ।

केन्द्रीय समितीको बैठकमै केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरुङ, अञ्जली श्रेष्ठलगायतले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै भनेका थिए, ’कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न नपाएको १० वर्ष भयो ।

यो पटक हामी भरतपुर महानगर छोड्दैनौँ ।’ उनीहरुले रेणु उठे कांग्रेसले भोट नहाल्ने बताँउदै प्रश्न गरेका थिए – बाबु–छोरीलाई नै एकै ठाउँमा उठ्न दिएपछि के हामी ताली पिटेर बस्ने ?’ तर कांग्रेसले छ वटै महानगरपालिकाको निर्णय केन्द्रबाट हुने निर्णय नै गरेको छ ।

यतिमात्र नभएर विरोधी आवाज दवाउन तथा प्रभावकारी तालमेलका लागि सत्ता गठबन्धनका दलले एक संयन्त्र बनाउने निर्णय पनि गरिसकेको छ ।

स्थानीय तहको निर्वाचमा खासै महत्व नभए पनि संसदीय चुनावमा भने गठबन्धन आवश्यक भएको निष्कर्षकै कारण देउवा गठबन्धनको मार्गमा अडिग बनेका हुन । तर असन्तुष्टि बुझेका उनले गठबन्धन विरोधी अभिव्यक्ती नदिन चेतावनी दिँदै आएका छन ।

स्थानीय निर्वाचनमा अन्य दलसँग सहकार्य गर्न नपाइने सत्ता गठबन्धनको निर्णय नै गरेको छ । यता माओवादी अध्यक्ष प्रचण्डले पनि चितवन कसै गरी आफ्नो भागमा पार्ने अड्डी नै कसेका छन ।

केन्द्रमा गठबन्धन जिल्लामा भनाभनको स्थिती आएपछि उनी पटकपटक चितवन गईरहेका छन । छोरी रेणु दाहाललाई दोश्रो पटक महानगरको मेयर जिताउने तयारीमा रहेका उनले भरतपुरमा माओवादीको दाबी रहने प्रष्ट पारिसकेका छन । हुन त चितवनमा प्रचण्ड वा जिल्ला स्तरका नेता कस्को पल्ला भारी हुन्छ भन्ने कुरा गठबन्धनमा सिट वाँडफाड नभई यसै भन्न सकिने अवस्था छैन ।

तर प्रचण्ड र देउवाको एक स्वर भएका कारण माओवादी कै भागमा भरतपुर पर्ने सम्भावना बढि देखिएको छ । भरतपुरमा प्रचण्डकै छोरी रेणु दाहाल स्वयम यो दौडमा देखिएका कारण यहाँ देखिने परिस्थितीले गठबन्धनको भविष्यमै प्रभाव पार्ने प्रष्ट छ । यस्तै परिदृश्यलाई लक्षित गरेर अन्तरघात हुन नदिने गठबन्धनले तयारी अघि बढाएको छ । तर यो तयारीले कति काम गर्छ त्यो भने हेर्न बाँकि छ ।