२० बैशाख २०८१, बिहीबार

शहरमा अलपत्रलाई गाउँ फर्काउँदै स्थानीय तह

2020 04 22 alapatra 425389140

ओखलढुङ्गाका स्थानीय तहले काठमाडौँसहित विभिन्न शहरमा अलपत्र परेका नागरिकलाई गाउँ फर्काउने तयारी थालेका छन् । जिल्ला सदरमुकाममा सबै स्थानीय तहका प्रमुखसहित जिल्ला कमाण्ड पोष्टका पदाधिकारीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार अलपत्र परेका नागरिकलाई गाउँ फर्काउन पहल गर्ने निर्णय गरेका तयारी थालेका हुन् ।

जिल्लाका सबैजसो स्थानीय तहले सार्वजनिक सूचना जारी गरेर अलपत्र परेकाको विवरण सङ्कलन गरिरहेका छन् । मोलुङ र मानेभञ्ज्याङ गाउँपालिकाले आउन चाहने सबै नागरिकलाई गाउँ फर्काउने भन्दै सम्पर्कमा आउन अपिल गरेको छ । “लकडाउनका कारण हाम्रा जनता शहरमा समस्यामा परेकोप्रति ध्यानाकर्षण भएको छ । आउन चाहनेको विवरण सङ्कलन गरेर गाउँसम्म ल्याउने तयारी गरिरहेका छौँ,” मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष मोतिराज राईले भने । तर गाउँमा आएर क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

मोलुङ गाउँपालिकाले शहरबाट अलपत्र परेकालाई उद्धार गरेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको निगरानीमा क्वारेन्टाइनमा राख्ने तयारी गरेको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले बताए । “लकडाउनका कारण सङ्कटमा परेकालाई उद्धार गर्ने र सुरक्षितरुपमा गाउँमा ल्याएर क्वारेन्टाइनमा राख्ने गरी विवरण माग गरिरहेका छौँ”, नेपालले भने ।

सुनकोशी गाउँपालिकाले सङ्कटमा परेका नागरिकलाई सहयोग गर्ने नीति लिएको छ । गाउँपालिका अध्यक्ष रुद्र अधिकारीले बीच बाटोमा अलपत्र परेका र खाद्य सङ्कट झेलेका नागरिकलाई सहयोग गरिने जानकारी दिए । “यही अवस्थामा सबैलाई गाउँ फर्काउन कति सम्भव होला तर सङ्कटमा परेकालाई सहयोग गर्न थालेका छौँ”, अध्यक्ष अधिकारीले भने, “बाटोमा अलपत्र परेकालाई ल्याएर सरकारी क्वारेन्टाइनमा राख्ने र सङ्क्रमण नभएको पुष्टिपछि गाउँ फर्काइन्छ । अन्यथा जो जहाँ छन्, त्यही ठाउँमा सहयोग गर्न पनि हाम्रो संयन्त्र पुग्छ ।”

खिजीदेम्बा गाउँपालिकाले पनि समस्यामा परेकालाई सहयोग गरिने भन्दै आफ्नो स्थान र अवस्थाबारे जानकारी गराउन अपिल गरेको छ । “को–कहाँ कुन अवस्थामा छ र कसलाई के समस्या छ भन्नेबारे बुझ्ने काम भइरहेको छ ।” प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले भने, “सबैको अवस्था र आवश्यकता बुझेर त्यहीअनुसार हामी अघि बढ्ने तयारीमा छौँ ।” खिजीदेम्बाले एकै दिन दुईसम्म सार्वजनिक सूचना जारी गरेर तत्काल विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकाले पनि समस्यामा परेकालाई उद्धार गर्ने तयारी गरेको नगरप्रमुख मोहन श्रेष्ठले बताए । नगरपालिकाले घर फर्कन चाहनेलाई विवरण उपलब्ध गराउन अपिल गरेको छ ।
लिखु, चिशङ्खु र चम्पादेवी गाउँपालिकाले पनि समस्यामा परेकालाई सहयोग र अफ्ठ्यारामा परेकालाई उद्धार गर्ने तयारी गरेका छन् ।

जिल्ला कमाण्ड पोष्टले नवप्रवेशीलाई अनिवार्य क्वारेन्टाइनमा राख्न स्थानीय तहलाई आग्रह गरेको छ । बाहिरबाट आउने नागरिकमा सङ्क्रमणको जोखिम हुने भएकाले अनिवार्य क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गराउन भनिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । रासस