१३ बैशाख २०८१, बिहीबार

स्थानीय प्रशासनले लगाएको स्मार्ट लकडाउन आजदेखि हट्ने

lockdwon

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न स्थानीय प्रशासनले लगाएको स्मार्ट लकडाउन आज (आइतवार) देखि हट्ने भएको छ ।

आजदेखि कोरोना महामारीको तेस्रो चरणमा बन्द भएका शैक्षिक संस्था, रेष्टुरेन्ट तथा रात्रिकालीन व्यवसाय सञ्चालनमा आउने भएका हुन् ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) तथा उपत्यकाका प्रशासन सम्मिलित जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को निर्णय अनुसार आइतबारदेखि शैक्षिक संस्था, होटल, रेष्टुरेन्ट तथा रात्रिकालीन व्यवसाय सञ्चालनमा आउने भएका हुन्।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुको निर्णय अनुसार शैक्षिक संस्था खुलाउने र रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो ।

तेस्रो चरणको कोरोनाको संक्रमण कम भएसँगै कडाइमा न्यूनीकरण गरिएको उहाँले जानकारी दिनुभयो । योसँगै अब शैक्षिक संस्थाहरुमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुनेछ । तर १२ वर्षमुनिका विद्यार्थीका लागि भने इन्टरनेटबाटै शिक्षणको गतिविधि सञ्चालन गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

रिजालका अनुसार रात्रिकालीन व्यवसाय, होटल, सिनेमा हल, जिमखानाका लागि पनि समय तोकिएको छ। जसअनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी फागुन १ गते आइतवार देखि राति १० बजेसम्म खोल्न दिइने छ।

खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशतमात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्न दिइनेछ ।