१४ बैशाख २०८१, शुक्रबार

प्रशासनले आदेश र निषेधाज्ञाहरु खुकुलो बनाएसँगै देशभर कोरोना संक्रमित बढ्यो

corona contract tracing

सकारले कोरोना महामारी नियन्त्रण गर्न जारी गरेका विभिन्न आदेश र निषेधाज्ञाहरु खुकुलो बनाएसँगै देशभर पुनः कोरोना भाइरसको संक्रमण बढेको छ ।

सरकारको निर्णय, कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिसको आधारमा यही माघ १४ र २३ गते जिल्ला प्रशासन कार्यालयहरुले कोरोना नियन्त्रण गर्न जारी गरेका आदेश तथा निषेधाज्ञाहरु खुकुलो बनाउने निर्णय गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयहरुले पछिल्लो पटक यही माघ २३ गते बिभिन्न आदेश तथा निशेधाज्ञाहरु हटाउने निर्णय गरेका थिए । त्यसयता कोरोना संक्रमितको संख्या प्रत्येक दिन बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयका अनुसार माघ २२ गते १ हजार ७ १४ जनामा कोरोना संक्रमण रहेको पुष्टी भएको थियो भने ९ जनाको मृत्यु भएको थियो । माघ २३ गते १ हजार ३८६ जनामा संक्रमण पुष्टी भएको थियो । उक्त दिन कोरानाका कारण ११ जनाले ज्यान गुमाएका थिए ।

यस्तै माघ २४ गते १ हजार ५७० जनामा संक्रमण पुष्टी भएको थियो भने १३ जनाको निधन भएको थियो । माघ २५ गते देशभर १ हजार ९५७ जना नयाँ संक्रमित थपिएका थिए । उक्त दिन कोरोनाका कारण ११ जनाको निधन भएको थियो ।

आज माघ २६ गते स्वास्थ्य मन्त्रालयले जारी गरेको रिपोर्टमा पछिल्लो चौबिस घण्टामा देशभर २ हजार ४०१ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ । सो अवधिमा ११ हजार ६०३ जनाको पीसीआर र ४ हजार ७५३ जनाको एन्टीजेन गरी कूल १६ हजार ३५६ जनाको कोरोना परिक्षण गरिएको थियो ।