१४ बैशाख २०८१, शुक्रबार

पारस खड्का र सावित्रा भण्डारी दशककै उत्केष्ट खेलाडी

paras

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र महिला फुटबल टोलीकी स्ट्राइकर साबित्रा भण्डारी दशकका उत्कृष्ट पुरुष र महिला खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आज आयोजना गरेको पल्सर स्पोर्टस अवार्डको १८ औं संस्करणमा पारस दशकको उत्कृष्ट पुरुष खेलाडी र साबित्रा दशकको उत्कृष्ट महिला खेलाडी घोषित भएका हुन् ।

दशकभरी राष्ट्रिय टोलीको नेतृत्व गर्दै उनकै कप्तानीमा नेपालले पहिलो पटक सन् २०१४ मा ट्वेन्टी ट्वेन्टी विश्वकप खेलेको थियो । त्यस्तै सन् २०१८ मा उनकै कप्तानीमा नेपाललाई एक दिवसिय मान्यता पाएको थियो ।

महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी सन् २०१४ मा राष्ट्रिय टोलीमा डेब्यु गर्दै निरन्तर उच्च लयमा खेल्दै आएकी छिन् । राष्ट्रिय टोलीका लागि ३८ गोल गर्दै सर्वाधिक गोलकर्ता रहेकी सावित्राको उच्च प्रदर्शनमा नेपाल २ पटक साफ च्याम्पियनसिपमा उपविजेता बनेको थियो ।

टेबल टेनिस खेलाडी एलिना मर्हजनले पिपल्स च्वाइस विधामा अवार्ड जितिन् । उनले क्रिकेटका कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बा र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठलाई पछि पारिन् । राष्ट्रिय खेल संघका प्रशिक्षक, खेल पत्रकार, फेसबुक लाईक र ईसेवा भोटिङका आधारमा ४७ दशमलव ८३३ मत प्राप्त गर्दै उनले अवार्ड जितेकी हुन् ।

त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगत टमाटा दशकका उत्कृष्ट प्रशिक्षक घोषित भए । ऐतिहासिक एक दिवसिय मान्यता पाउँदा उनी टोलीका मुख्य प्रशिक्षक थिए । उनकै नेतृत्वमा नेपालले नामिबियामा भएको डिभिजन टु को फाइनल पुगेको थियो ।

उत्कृष्ट चारै जनाले अवार्ड सहित एक थान मोटरसाइकल प्राप्त गरे ।
गत वर्ष कोरोनाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता नभएका कारण यस संस्करणमा दशकका उत्कृष्टहरुको घोषणा गरिएको थियो ।

वर्ष २०७७ को उत्कृष्ट टोली पुरुष फुटबल टोलीले प्राप्त गर्यो । गत वर्ष पुरुष टोलीले ५ खेल खेल्ने क्रममा १ जित, ३ बराबरी र १ हारको नतिजा निकालेको थियो ।

त्यस्तै, स्पेसल अवार्डबाट धाविका पुष्पा भण्डारी, पारा एथलिटबाट रिता थुलुङ, स्पेशल अवार्डबाट नेपाली खेलकुदका पहिलो चिकित्सक डाक्टर अजय राणा, पर्फमर अफ द एयरबाट म्याराथनकी पुष्पा भण्डारी, लाइफ टाइम एचिभ्मेन्ट अवार्डबाट राष्ट्रिय खेलकुद परिषद्का पुर्व सदस्य सचिव स्वर्गिय शरद चन्द्र शाह र एसियाली खेल पत्रकार एसियाली खेलकुद पत्रकार महासंघका अध्यक्ष सताम अल साहली सम्मानित भए ।