१२ बैशाख २०८१, बुधबार

जिन्दगीको दोस्रो पारीमा पनि सफलता मिलोस्

pm paras

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय क्रिकेट टोलिका पूर्ब कप्तान पारस खडकालाई आगामी यात्राका लागि शुभकामना दिनुभएको छ ।

दुई दशकसम्म नेपाली क्रिकेटको बिकासमा पूर्ब कप्तान खडकाले गर्नुभएको योगदानप्रति धन्यवाद दिनुहुँदै प्रधानमन्त्री देउवाले आगामी यात्राका लागि शुभकामना दिनुभएको हो ।

प्रधानमन्त्री देउवासँग भेटघाटका लागि बालुवाटार पुग्नुभएका पारसले नेपाली क्रिकेटको बिकासका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रधानमन्त्री देउवाले नेपाली क्रिकेटको बिकासका लागि हरसम्भब प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको कप्तान खडकाले जानकारी दिनुभयो । पूर्ब कप्तान खडकाले भन्नुभयो, “रणनीतिक कुनै छलफल भएको छैन्, आफ्नो आगामी यात्राबारे जानकारी गराउँदै क्रिकेट बिकासका लागि सरकारको सहयोग माग्यौं ।”

पारसले गत् साता अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको थियो । सन्यासको घोषणापछि आयोजित पत्रकार भेटघाटमा पारसले क्रिकेट बिकासका लागि आफू नेपाल क्रिकेट संघमा आउने इच्छा ब्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले पूर्ब कप्तान खडकालाई शुभकामना दिनुभयो ।

पारससँगको भेटपछि प्रधानमन्त्री देउवाले आफ्नो ट्वीटरमा भेटघाटको तस्विर साझा गर्दै लेख्नुभएको छ, “दुई दशकमा नेपली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन ठूलो सपना देख्न प्रेरित गरेकोमा धन्यवाद ।”

उहाँले नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो पारीमा पनि सफलता मिलोस भन्नुहुँदै सरकारको साथ र सहयोग सधैं रहीरहने बताउनुभएको छ ।