११ बैशाख २०८१, मंगलवार

पूर्व कप्तान पारस खड्कालाई सन्यास फिर्ता लिन दबाब, सन्यास फिर्ता राष्ट्रको आवश्यकता भएको जिकिर

Paras Khadka
फाइल फोटो

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई सन्यास फिर्ता लिन चौतर्फी दबाब परेको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले पनि खड्काले सन्यास फिर्ता लिनुपर्ने दोहोर्याउनुभयो ।

राष्ट्रले आह्वान गरेको अवस्थामा खड्काले सन्यास फिर्ता लिनुपर्ने सदस्य सचिव सिलवालको भनाइ थियो ।

‘‘पारसले सन्यासको घोषणा गर्दा म चकित भएँ । म खेलकुदको अभिभावक भएका कारण कम्तीमा एकपटक सल्लाह गरेको भए हुन्थ्यो भन्ने लाग्यो,’’ सिलवालले बताउनुभयो । यसबारेमा नेपाल क्रिकेट संघसँग पनि परामर्श गरेको उहाँले जानकारी दिनुभयो ।

सदस्यसचिव सिलवालले भन्नुभयो ‘‘पारसको सन्यास यसरी हुनुहुँदैनथ्यो । एउटा राम्रो अन्तर्राष्ट्रिय क्रिकेट आयोजना गरेर लिनुपथ्र्यो । गौरवपूर्ण बिदाइ हुनुथ्र्यो । खेलकै मैदानबाट बिदाइ हुर्नुपथ्र्यो । त्यसैले म अनुरोध गर्दछु कि पारसले सन्यास फिर्ता लिनुपर्छ ।’’

सदस्य सचिव सिलवालले लियोनल मेसीको उदाहरण दिँदै राष्ट्रले आह्वान गरेपछि मेसीले आफ्नो सन्यास फिर्ता लिए जस्तै पारसलाई पनि सन्यास फिर्ता लिनका लागि आग्रह गर्नुभयो । उहाँले सन्यास फिर्ता पारस खड्काको भन्दा पनि राष्ट्रको आवश्यकता भएको बताउदै कहिलेकाहीँ खेलाडीले आफूले मात्र स्वतन्त्र निर्णय गर्न नमिल्ने जिकिर गर्नुभयो । पारस व्यक्ति नभई संस्था र राष्ट्रको सम्पत्ति समेत भएकोले राष्ट्रकोबारेमा पनि सोच्नुपर्ने उहाँको भनाइ थियो ।

नेपाली टोलीका पूर्व कप्तान पारसले साउन १९ गते समाजिक सञ्जालमा पोस्ट गर्दै सन्यास लिएको घोषणा गर्नुभएको थियो ।