७ बैशाख २०८१, शुक्रबार

सात विकेटले विजयी नेपाल

Nepal

आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा नेपालले पपुवा न्युगिनी पीएनजीलाई सात विकेटले पराजित गरेको छ ।

दुबई क्रिकेट रंगशालामा १ सय ७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो । नेपालको जितमा आरिफ शेख र कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । आरिफ सर्वाधिक ५९ रनमा अविजित रहँदा कुशलले ५० रन बनाए । रोहित पौडेल ४४ रनमा अविजित रहे ।

आसिफ शेख दुई रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरीले रनको खातै खोल्न सकेनन । पीएनजीका चार्ल्स अमिनीले दुई विकेट लिए । काबुआ मोरेले १ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनायो । पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रनको योगदान गरे । लेगा सियाका २० तथा सेसे वाउ १९ रनमा आउट भए । नेपालका कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले दुई–दुई विकेट हात पारे ।

करण केसी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र पवन सर्राफले एक–एक विकेट लिए । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको थियो । तर नेपालले युएईविरुद्धको दुबै खेलमा पराजय भोगेको थियो ।

सिरिजमा पीएनजीले ३ खेलमा १ मात्र जित हात पारेको छ। उसले पछिल्लो खेलमा यूएईलाई हराएको थियो। लिगमा पीएनजीको यो पहिलो जित हो। लिगको पुछारमा रहेको पीएनजीले १५ खेलबाट २ अंक जोडेको छ । नेपालले भने १२ खेलबाट १२ अंक जोडेको छ। लिगको शीर्ष तीन स्थानमा रहने टोलीले सोझै विश्वकप छनोट खेल्न पाउनेछन्।