२२ बैशाख २०८१, शनिबार

मुद्दा हारिन्छ भनेर महाअभियोग गठबन्धनले प्रधानन्यायाधीशलाई लगाए: ओली

kp oli 3

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशरुले पदक र विभूषणसँग न्याय साटेको बताएका छन् ।

पोलिटब्युरोको प्रथम बैठकलाई सोमबार सम्बोधन गर्दै उनले ‘परमादेशी असंवैधानिक’ न्याय दिने न्यायाधीशहरुलाई सरकारले पदक र विभूषण दिएको र त्यो उनीहरुले सहज रुपमा स्वीकार गरेको बताए ।

विभिन्न संवैधानिक आयोगहरुमा आफू नेतृत्वको सरकारले गरेका ५२ नियुक्ति मुद्दाको बुधबार सुनुवाइ हुँदै गरेको उल्लेख गर्दै ओलीले अदालतलाई सम्मानित गर्न सकिने खालको फैसला आओस् भन्ने अपेक्षा राखेका थिए ।

“हामीलाई थाहा छ बुधबार केही मुद्दाहरु सर्वोच्च अदालतमा छन् । हामी सम्मानित सर्वोच्च अदालत साँच्चै सम्मानित हुन सकोस्, जनताबाट आशा, भरोसा, विश्वास गरिने न्याय सम्पादनको निष्पक्ष थलो, सक्षम, स्वच्छ थलोको रुपमा आम जनताले बुझ्न पाउन्, मर्यादा गर्न पाउन् । अदालतलाई हामीले पनि भित्रैदेखि, मनैदेखि सम्मान गर्न पाउँ । जनताले पनि सम्मान गर्ने स्थिति होस्,” उनले भने ।

प्रतिनिधिसभा विघटनविरुद्ध असार २८ गते परमादेश दिएकोप्रति भने ओलीले न्यायाधीशहरुले न्याय पदक र विभूषणसँग साटेको आरोप लगाए । उनले भने,“दबाबमा न्यायलय पर्नु हुँदैन । प्रभावमा न्यायालय पर्नु हुँदैन । तर, यहाँनेर के छ भने मान, पदकसँग न्याय साट्ने ।

न्यायाधीशले मुद्दा फैसला गरेको तुरुन्तै सरकारले मान, पदवी दिने । ती–ती मान्छेलाई दिने ज–जसले परमादेशी असंवैधानिक काम गरेको छ । ती व्यक्तिहरु (न्यायाधीश)ले सहज ढंगले स्वीकार्ने । हामीले सरकारको काम गरिदिएकै हो र हामी त्यसका हकदार छौँ भनेझैँ गरेर व्यवहारिक अभिव्यक्ति रहेछन् ।”

सवोच्च अदालत साँच्चै सम्मानित हुन सकोस् भन्ने पक्षमा एमाले रहेपनि सत्ता गठबन्धनले न्यायालयलाई दबाबमा राख्दै प्रहार गरिरहेको ओलीको आरोप छ ।

“हामी आफ्ना स्वार्थका लागि अदालतलाई गठबन्धनको जस्तो प्रहार गर्न चाहँदैनौँ,” ओलीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीमाथिको चर्चा गर्दै वर्तमान सरकारले अनौठो तरिकाले गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग दर्ता गरेको बताए । उनले एमालेले कारबाही गरेका १४ सांसद्को मुद्धा हार्ने अवस्था आएपछि प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाइएको बताए ।

“यसपटक सरकार परिवर्तनको सात महिनापछि अनौठो ढंगले हाम्रो पार्टीले कारबाही गरेका १४ जनाको मुद्दा पेसीमा चढ्दैछ भनेपछि सत्ता गठबन्धनले प्रधानन्यायाधीशलाई महाअभियोग नलगाए मुद्दा हारिन्छ भनेर महाअभियोग लगाए,” ओलीको भनाइ छ ।