१५ चैत्र २०८०, बिहीबार

स्थानीयको आक्रमणमा प्रहरी जवानको निधन भएपछि लेटाङमा अनिश्चितकालीन कर्फ्यु

biratnagar

मोरङको लेटाङमा स्थानीयको आक्रमणमा हिजो एक जना प्रहरीको निधन भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले आज बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु आदेश जारी गरेका हुन् ।

दक्षिणमा लेटाङ नगरपालिका वडा नम्बर ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, लेटाङ नगरपालिका वडा नम्बर ५ को सबै क्षेत्र, उत्तरमा लेटाङ नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु लगाइएको छ । त्यहाँको अवस्था नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरेको प्रजिअ दाहालले जानकारी दिनुभयो ।

यौन दुर्व्यवहारका आरोपी शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आइतबार स्थानीयले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । आरोपीलाई बचाउने प्रयास भएको गलत बुझाईका कारण घटना भएको हो ।