१५ बैशाख २०८१, शनिबार

मोरङमा बढे सम्बन्ध विच्छेदका घटना, यस्ता छन् कारण

Capture 131

मोरङमा यो वर्ष सम्बन्ध विच्छेदका घटना निकै बढेका छन्। जिल्ला अदालतमा दर्ता भएकामध्ये पनि २० प्रतिशत सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा रहेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष सम्बन्ध विच्छेदको मुद्दा दर्ता ६५ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७८–७९ को तथ्याङ्कअनुसार मोरङ जिल्ला अदालतमा १ हजार ७ सय ९४ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्ष यो संख्या १ हजार १ सय ७१ मात्र थियो ।

अझै आर्थिक वर्ष २०७६–७७ मा सम्बन्ध विच्छेदका ९ सय ८८ मुद्दा दर्ता भएका थिए । सम्बन्ध विच्छेदको मुख्य कारण घरेलु हिंसा भएको जिल्ला अदालत मोरङले जनाएको छ ।

विगतमा पुरुषले चाहेर पनि सम्बन्ध विच्छेदका लागि सिधै अदालत जान पाउने व्यवस्था थिएन । २०७५ भदौबाट लागू भएको मुलुकी संहिताले पुरुषलाई पनि सम्बन्धविच्छेद चाहिए सिँधै अदालत जान सक्ने बाटो खोलिदियो । संहिता संशोधनसँगै पुरुषवादी भएका मुद्दा दर्ता हुने क्रम बढेको जिल्ला अदालतले जनाएको छ ।

विवाहेत्तर प्रेम सम्बन्ध, वैदेशिक रोजगार तथा सामाजिक संजालका कारण पारीवारिक विग्रह पनि मुख्य कारणको रुपमा देखिएको कानून व्यवसायी बताउँछन् ।

पारीवारिक रुपमा समाधान गर्न सकिने सानातिना मनमुटावको निहुँमा सम्बन्ध–विच्छेद गर्न हतारिने पश्चिमा संस्कृतिको देखासिखीले पनि मुद्दाको संख्या बढेको कानून व्यवसायी बताउँछन् । सम्बन्ध विच्छेद बढ्नु सचेतताको संकेत हो कि सामाजिक विग्रह यसबारे समयमै सचेत हुन जरुरी देखिन्छ ।