१२ बैशाख २०८१, बुधबार

जताततै जलमग्‍न मोरङ

Kerabai pull

सोमबार रातिदेखि परेको अबिरल वर्षापछि विभिन्न खोलामा आएको बाढीले पूर्वी मोरङका धेरै जसो गाउँ/सहर जलमग्न भएका छन्।

मावामा आएको बाढीले उर्लाबारी डुवानमा परेको छ। उर्लाबारीका मावासँग जोडिएका वडामा खोलाको पानी पसेको छ। उर्लाबारीका वडा नम्बर ५, ६, ७ र ९ वडामा मावाको पानी पसेको छ भने वडा नम्बर १, ४, ८ मा बक्राहा नदीको पानी पसेको छ।

वडा नम्बर ३ मा सोल्टी खोलाले दुःख दिएको छ। उर्लाबारीका नगर प्रहरी प्रमुख याम कार्कीका अनुसार मुख्य बजारमा नै ३ फिट पानी जमेको छ। कार्कीले अधिकांश पसल, ग्यारेज र निजी घरहरूमा पानी पसेको जानकारी दिनुभयो।

उता उर्लाबारी-९ को वोर्डरलाइनबाट रातिदेखि नै मावा खोला गाउँ पस्न थालेको छ। खोला किनारका अधिकांश घर गोठ डुवानमा परेका छन्।

morang

खोला बजार र गाउँ भित्र छिरे पनि हालसम्म कुनै पनि मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापाले बताउनुभयो।

यता मोरङको कांनेपोखरी-रङ्गेली सडक अन्तर्गत कानेपोखरी र रङ्गेली जोड्ने गेउरिया खोलाको डाइभर्सन बाढीले बगाएको छ। गेउरियामा पुल बनाउने ठेकदारले ६ वर्षयता पुल नबनाउँदा स्थानीय पालिकाले डाइभर्सन बनाउँदै सडक सञ्चालन गर्दै आएका थिए।

चिसाङ खोलाको कटान कानेपोखरी-२ को धाबीटोल नजिक आइपुगेको छ। खोलालाई च्यानलाइज गर्ने काम धमाधम भइरहेको वडा नम्बर ५ का वडाध्यक्ष चरण गुरुङले बताउनुभयो।

Kerabai pull photo