१४ बैशाख २०८१, शुक्रबार

लेटाङमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

CDO Morang

जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । 

विद्यार्थीमाथि यौन दुर्व्यवहार घटनासँगै भएको झडपमा एक प्रहरी जवानको मृत्यु भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको जानकारी दिनुभयो । 

आइतबार भएको घटनाबाट थप क्षति हुन नदिन कर्फ्यु आदेश जारी गरेको र अहिले अवस्था सामान्य नै रहेको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो । प्रजिअ दाहालका अनुसार लेटाङ नगरपालिकाको वडा नं ३, ४, ५ र ६ का केही क्षेत्र सहित मोरगी खोलादेखि चिसाङ खोलासम्मको भागमा कर्फ्यु लगाइएको छ ।

लेटाङ नगरपालिका वडा नं ५ खेरुवाको शिक्षा विकास माध्यमिक विद्यालयमा छात्रा माथि दुर्व्यवहार भएको घटनामा एक जना महिला प्रहरीको मृत्यु भएको थियो भने करिब २८ जना प्रहरी र विद्यार्थीहरू घाइते भएका थिए । यौन दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरी कार्यालय लैजाने क्रममा झडप हुँदा स्थिति तनावग्रस्त बनेको हो ।