१२ बैशाख २०८१, बुधबार

तोकिएकै मितिमा निर्वाचन हुनेमा सत्तारूढ दलकै नेताहरूको आशंका

gathabandhan

सरकारले आगामी वैशाख ३० गते तोकेको स्थानीय तह निर्वाचनबारे सत्तारूढ गठबन्धनका नेताहरूले नै आशंका व्यक्त गरेका छन् । प्रतिपक्ष दल नेकपा एमालेले भने पटक-पटक स्थानीय तह निर्वाचन तोकिएकै समयमा हुनेमा आशंका गर्दै आएको छ ।

प्रतिपक्षको आशंका राजनीतिक रूपमा स्वाभाविक भए पनि सत्तारूढ दलकै शीर्ष नेताहरूले तोकिएकै मितिमा स्थानीय तह चुनाव हुनेमा आशंका व्यक्त गर्नुले निकै महत्व राख्छ ।

स्थानीय तह निर्वाचन सम्बन्धमा सत्तारूढ गठबन्धनका दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच बिहीबार बिहान भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनबारे आशंका व्यक्त गर्नुभएको हो । 

शीर्ष तीन नेताको छलफलमा अध्यक्ष दाहालले अझै पनि निर्वाचन हुन्छ कि हुँदैन भनेर हल्ला चलिरहेको भन्दै प्रधानमन्त्री देउवासँग भन्नुभयो, ‘अहिलेको राष्ट्रिय राजनीतिक विषय भनेको करिब–करिब अब निर्वाचनतिर केन्द्रित हुने र जनतासँग आ-आफ्ना एजेण्डा लिएर जाने काममा पार्टीहरू लागि नै सकेका छन् ।

यद्यपि, बाहिरतिर निर्वाचन हुँदैन कि भन्ने चर्चा पनि भइरहेको छ । के हो यो ? हामी तयारीमा तागत लगाएर गइसकेका छौँ । तर, निर्वाचन हुँदैन भन्ने हल्ला पनि किन चलिरहेको छ ।’ 

अध्यक्ष दाहालको जिज्ञासाको जवाफमा प्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभयो, ‘यस्तै हो चुनावको अघिल्लो दिनसम्म चुनाव हँुदैन भन्ने हल्ला चलिरहन्छ, चुनावका दिन भोट हाल्ने दिन पनि यस्तो हल्ला भइरहन्छ ।’

शीर्ष नेताको छलफलपछि पार्टी प्रशिक्षण कार्यक्रमको लागि बुटवल पुग्नुभएका अध्यक्ष दाहालले शीर्ष तीन नेताबीच भएको छलफलबारे जानकारी दिँदै भन्नुभयो, ‘प्रधानमन्त्रीले बिहान भेटका लागि बोलाउनुभयो । माधव नेपाल र म थियौँ । निर्वाचन हुँदैन भन्ने हल्ला छ नि भनेर भनेको प्रधानमन्त्रीले नेपालमा यस्तै हो, चुनावको दिन भोट हाल्ने बेलासम्म पनि भनिराख्छन् भन्नुभयो ।’ 

स्थानीय तहको निर्वाचनबारे प्रधानमन्त्रीले दिएको जवाफपछि चुनावबारे कुनै कन्फ्युजन नभएको भन्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘त्यसकारण म प्रष्ट पार्छु चुनाव नहुने सम्भावना भन्ने कहीँ कतै देखिएको छैन ।

चुनाव तोकिएकै मितिमा हुन्छ । त्यसमा कतै कन्फ्युजन नराख्न म सबैलाई आग्रह गर्छु । निर्वाचनमा कन्फ्युजन भयो भने तयारीमा असर गर्छ । पूरै तागतका साथ तयारीमा लाग्ने हो ।’ 

तोकिएकै समयमा चुनाव नहुने भन्ने कुरा कहीँ कतैबाट नदेखिएको जिकिर गर्दै अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो । 

गठबन्धन दलका नेताहरूबीच टीका टिप्पणी

सत्ता गठबन्धनबीच स्थानीय तहका साथै प्रदेश र संघको चुनावमा पनि तालमेल गर्ने कसरत भइरहेका गठबन्धनका मुख्य दल नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूले आपसमा टीका टिप्पणी गर्ने क्रम भने तीव्र बन्दै गएको छ ।

गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसमा खास गरी केन्द्रीय सदस्य शेखर कोइराला समूहका नेताहरूले एक्लै चुनावमा जानुपर्ने अभिव्यक्ति दिइरहेका छन् । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि पटक-पटक आगामी चुनावमा कांग्रेस कसैसँग तालेमल नगरी एक्लै प्रतिस्पर्धा गर्ने दाबी गर्दै आउनुभएको छ । 

सत्ता साझेदार दल कांग्रेसको संस्थापनइतर पक्षका नेताहरूको अभिव्यक्तिप्रति माओवादी केन्द्रका नेताहरूले कांग्रेसमा अहंकार बढेको प्रतिक्रिया दिन थालेका छन् ।

चुनावी गठबन्धनबारे कांग्रेसका नेताहरूले सार्वजनिक गरेका अभिव्यक्तिप्रति लक्षित गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार माओवादीको उपत्यका, सम्पर्क समन्वय विशेष प्रदेश तथा प्रवास समन्वय समितिको संयुक्त वैचारिक राजनीतिक प्रशिक्षणमा कार्यकर्तालाई एक्लै चुनाव लड्नका लागि तयार रहन निर्देशन दिनुभएको थियो ।

प्रशिक्षणमा दाहालले भन्नुभएको थियो, ‘गठबन्धन कायमै रहन सक्छ तर हामी आफ्नो खुट्टामा उभिनुप¥यो । हामी २०६४ को जस्तो माहोलमा फर्किनुप¥यो, गठबन्धन गरेर जितिहालिन्छ भन्ने भरमा नपरौँ ।’ 

यसैगरी, बिहीबार प्रेस सेन्टर नेपाल बुटवलले गरेको पत्रकार सम्मेलनमा पनि अध्यक्ष दाहालले एमालेसँग चुनावी तालेमेल हुने वा नहुने भन्ने विषयमा कांग्रेसको व्यवहारमा भर पर्ने टिप्पणी गर्नुभएको छ । 

तर, मंगलबार काठमाडौंमा भएको अनेरास्ववियु महिला संघको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने एमालेबाहेक अन्य कुनै पनि दल कम्युनिष्ट नभएको जिकिर गर्दै वाम एकताको हल्ला बेतुक भएको टिप्पणी गर्नुभएको थियो ।

शीर्ष नेताहरूको अभिव्यक्ति हेर्दा अध्यक्ष दाहालले भनेजस्तो तत्काल वाम गठबन्धन हुने सम्भावना देखिँदैन । तर, राजनीतिक क्षेत्रका जानकारहरूले भने एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहाल अघिल्लो चुनावको जसरी राजनीतिक स्वार्थका लागि कुनै पनि बेला मिलनको हात बढाउने र सम्झौता गर्नसक्ने जिकिर गरेका छन् । 

बिहीबार बसेको गठबन्धनका शीर्ष नेताहरूसंगको छलफलमा कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले पार्टीभित्र गठनबन्धन विरुद्धमा आवाज उठे पनि आफू सकारात्मक रहेको बताउनुभएको थियो ।

उहाँले आगामी साता पार्टीको बैठक बोलाएर चुनावी तालमेलबारे ठोस निष्कर्ष दिने सत्ता साझेदार दलका नेताहरूलाई आश्वासन दिनुभएको छ । त्यसो त प्रधानमन्त्री देउवा संसद्बाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्न सत्तारूढ गठबन्धनका घटकले साथ दिएपछि आगामी चुनावसम्मै गठबन्धन कायम राख्नुपर्नेमा थप प्रतिबद्ध देखिनुभएको छ ।

नेपाली कांग्रेसभित्र गठबन्धन नगरी एक्लै चुनावी प्रतिस्पर्धामा जानुपर्ने आवाज उठिरहेको भए पनि पार्टीभित्रको अंकगणितका कारण सभापति देउवालाई क्रस गरेर निर्णय गर्न भने असम्भव छ ।

गठबन्धन कायम राख्न कांग्रेस प्रतिबद्ध छ : गृहमन्त्री

यसैबीच, गृहमन्त्री बालकृष्ण खाँणले सत्ता गठबन्धन कायम राख्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ ख रुपन्देहीमा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री खाँणले मुलुकमा आइपरेको अप्ठ्यारो परिस्थितिमा बनेको गठबन्धनलाई कायमै राखेर कांग्रेसले अगाडि बढ्न चाहेको बताउनुभएको हो ।

सत्तारूढ गठबन्धनको निरन्तरताबारे गठबन्धनकै नेताहरूबीच अनेक टिम्पणी आइरहेको बेला कांग्रेसका प्रभावशाली नेतासमेत रहनुभएका गृहमन्त्री खाँणले गठबन्धन कायमै रहने बताउनुभएको हो ।

स्थानीयस्तरमा गाउँ र नगरमा विकास हुन कांग्रेसले स्थानीय तहको निर्वाचन जित्नुपर्ने जिकिर गर्दै मन्त्री खाँणले भन्नुभयो, ‘तल्लो तहसम्म गाउँ र नगरमा विकास हुन कांग्रेसले स्थानीय निर्वाचनमा जित्नुपर्छ । शान्ति र स्थायित्वका लागि कांग्रेसले आगामी निर्वाचन जित्नुपर्छ ।’