१४ बैशाख २०८१, शुक्रबार

चैतको तेस्रो साता पुनः मेलम्चीको पानी काठमाडौं पुर्‍याउने तयारी

melamchi1643160894

सरकारले यही चैत महिनाभित्र मेलम्चीको पानी पुनः काठमाडौं ल्याइपुर्याउने तीव्र तयारी गरेको छ । 

खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं लैजाने सरकारको लक्ष्य पूरा हुने बताउनुभएको छ । बुधवार सुन्दरीजल हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान पुग्नुभएका मन्त्री चौधरीले यही महिनाभित्र पानी जुनसुकै हालतमा काठमाडौं पुर्‍याउने दाबी गर्नुभयो । 

जनशक्ति तथा अन्य प्राविधिक सहयोग थप आवश्यक परे सरकारले सहयोग गर्ने भन्दै उहाँले चैत मसान्तसम्ममा जसरी पानी काठमाडौं पुर्‍याउने सरकारी लक्ष्य पूरा गर्न खानेपानी विकास समिति र ठेकेदार कम्पनी सिनो हाइड्रोलाई निर्देशन समेत दिनुभयो । 

मुहानस्थलको निरीक्षण गर्दै मन्त्री चौधरीले अहिले भइरहेको कामको गति चित्तबुझ्दो रहेको बताउनुभयो । काम निकै द्रुतरुपमा भइरहेको पाइएको बताउदै उहाँले चैतको तेस्रो साता पानी काठमाडौं पुग्नेमा विश्वस्त रहेको जानकारी दिनुभयो । ठेकेदार कम्पनीले काम शरू गरेको ९० दिनभित्र काम सक्ने सम्झौता गरेकाले सोही अनुसार काम भइरहेको उहाँले बताउनुभयो । 

केही दिनअघि ठेकेदारले आयोजनाको काम रोकेकोप्रति संकेत गर्दै उहाँले भुक्तानी समयमै गर्न सरकार तयार रहेको, तर कुनै पनि बहानामा काममा ढिलाइ गर्न नहुने बताउनुभयो ।