८ बैशाख २०८१, शनिबार

जग्गा ठगी प्रकरणमा वडाध्यक्षसहित ७ जना पक्राउ

Pakrau 4 768x391 1

जग्गा ठगी प्रकरणमा संलग्न वडाध्यक्षसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिका–४ की ७४ वर्षीया बिममाया तामाङलाई जालसाझी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले शनिबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष ३५ वर्षीय किङसाङ भोटे, सोही स्थानका ३० वर्षीय सुरेन्द्र तामाङ, २१ वर्षीया कल्पना भोटे, २० वर्षीया ङिमा लाजुङ भोटे रहेका छन् ।

यसैगरी, खाँदबारी नगरपालिका–१ घर भइ मालपोत कार्यालय खाँदबारीका नायब सुब्बा ५१ वर्षीय महेन्द्रकुमार पराजुली, मकालु गाउँपालिका–४ घर भइ लेखापढी व्यवसायी गर्ने ३५ वर्षीय अनिस गुरुङ र चैनपुर नगरपालिकाका २५ वर्षीय पासाङ शेर्पा रहेका छन् ।

यसरी भयो किर्ते

अध्यक्ष भोटेले बिममायालाई वृद्धाभत्ताको कार्ड बनाइदिने भन्दै सदरमुकाम खाँदबारी ल्याइ जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि बनाएर २ गते मालपोत कार्यालयमा स्व.दलबहादुर तामाङको नाममा रहेको सम्पूर्ण जगाहरु बिममायाको नाममा नामसारी गराएका थिए ।

सोही दिन नामसारी गरिएका जगाहरुमध्ये २७५ र २८० कित्ता नम्बरको जग्गा आफन्तका नाममा नामसारी गरिएको थियो । जसमध्ये कित्ता नम्बर २७५ को जग्गा मालपोत कार्यालयका नायब सुब्बा पराजुलीले आफ्नै घरमा कोठाभाडामा बस्दै आएका पासाङ शेर्पाको नाममा रजिष्ट्रेसन पास गरेका थिए ।

त्यस्तै, कित्ता नम्बर २८० को जग्गा वडाध्यक्ष भोटको तर्फबाट कल्पना भोटे र सुरेन्द्र तामाङको तर्फबाट आफ्नै श्रीमती ङिमालाजुङ भोटेको नाममा संयुक्त रुपमा पास गरेका थिए ।

कल्पना भोटेको हकमा लेखापढी व्यवसायी गुरुङको नाममा वारेस पास भएको थियो । सम्पूर्ण कागजात लेखापढी गरेवापत गुरुङले अध्यक्ष भोटेमार्फत् ९ हजार रुपैयाँ लिएका थिए ।

बिममाया तर्फका काम सकिएपछि सुरेन्द्र तामाङले सोही दिन राति २ बजेतिर उनलाई घरमा पुर्‍याइ वृद्धाभत्ता बापतको रकम भनी २० हजार रुपैयाँ र लालपुर्जा दिएर खाँदबारी फर्किएका थिए ।

पासाङ शेर्पाको नाममा पास भएको जग्गा कित्ता नम्बर २७५ लाई पुनः फागुन १६ गते नायब सुब्बा पराजुलीले आफ्नै श्रीमतीक कविता पराजुलीको नाममा नामसारी गरेका थिए ।

उनीहरुले बिममायालाई प्रलोभनमा पारी किर्ते कागज समेत तयार पारी अपर अरुण जलविद्युत् परियोजनाबाट ठुलो रकम मुआब्जा लिने प्रयोजनका लागि जग्गा ठगी गरेको बुझिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।