७ बैशाख २०८१, शुक्रबार

पन्ध्र वर्षमै आमा बन्छन् बादी समुदायका किशाेरी, खान लगाउनकै लागि हुन्छ बालविवाह

badi community
फाइल फोटो

कानूनले २० वर्ष नपुगनी विवाह गर्न बन्देज लगाएको छ, तर बादी गाउँकी बसन्ती (नाम परिवर्तन) १५ वर्षमै आमा बनेकी छन् । ‘बाल विवाह गर्न हुन्न भन्ने तालिमै लिएकी थिएँ’ बसन्ती भन्छिन्, ‘तर के गर्नु, खान लाउनकै लागि बिहा गर्नु पर्यो ।’

आफूजस्तै किशोरीले राम्रो लगाएको मीठो खाएको देख्दा बिहा गर्ने रहर जागेको बताउँछिन् बसन्ती । ‘पढ्ने, लेख्ने र जागिर खाने मन मलाई पनि थियो’ बसन्ती भन्छिन्, ‘तर बिहा गरेपछि सबै बाटा बन्द भए ।’

उनी सदरमुकामकै एउटा होटलमा श्रम गरिरहेकी छन्, श्रीमान रोजगारीका लागि भारतमा छन् ।

कालिकोटमा अझै पनि बालविवाह, छाउपडी, जातीय छुवाछुत जस्ता कुप्रथा कायमै छ । अहिले पनि महिनावारी हुँदा छाउपडी बस्ने गरेको बसन्ती बताउँछिन् । शनिवार बसन्ती छाउगोठमै थिइन् । मन भएर पनि कुप्रथा तोड्न नसकेकाेमा उनी दुःखी छन् ।

वादी समुदाय कर्णाली राजमार्ग आसपासमा गिट्टी कुटेर जीवन बिताउँदै आएका छन् । वादी समुदायमा बालकदेखि वृद्धसम्म गिट्टी कुट्ने र होटलमा काम गर्ने गर्छन् ।

सरकारले आफ्ना लागि केही नगरेको उनीहरु बताउँछन् । जिल्लाको वादी बस्तीमा ११ घरधुरीका ४६ जनाको बसोबास छ जसमध्ये १९ बालबालिका छन् । उनीहरु अधिकांश विद्यालय जाँदैनन् । केहीको वसन्तीको झैँ सानैमा विवाह हुने गरेको छ ।

स्थानीय सरकार वादी समुदायको यो समस्या सुल्झाउने योजनामा भएको अधिकारीहरु बताउँछन् ।

‘उहाँहरुको घर बनाउने र जीवनस्तर सुधार्ने अनेक तालिम दिने योजना बनेको छ’, खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डे भन्छन्, ‘यसका लागि ६ लाख रुपैयाँ विनियोजन पनि भइसकेको छ ।’