१४ बैशाख २०८१, शुक्रबार

इटहरीमा एकै दिन लकडाउन उल्लंघन गर्ने ३ सय बढीलाई सडकमा उभ्याइयो

itahari

लकडाउको विभिन्न बहाना बनाएर इटहरीमा हिंड्ने क्रम नरोकिएपछि इटहरी प्रहरीले नयाँ कदम चालेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीका अनुसार लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले उभ्याएर कारबाही सुरु गरेको हो ।

‘हामीले आज मात्रै तीन सय तीन जनालाई पक्राउ गरी उभ्याएर कारबाही गर्यौं,’ भण्डारीले टेलिफोनमा भने, ‘इटहरीका भित्री सडकखण्डमा विशेषगरी काम बिना नै मानिस हिँड्ने गरेको पाइएको छ, हामी निरन्तर खटिरहेका छौं ।’ सर्वसाधारण मानिसले प्रशासनको फाइदाका लागि लकडाउन गरेकोे बुझ्ने उनले बताए । ‘कसरी सम्झाउँने समस्या छ,’ उनले भने, ‘हामीले दुई घण्टासम्म त उभ्याएर सचेत गराउँछौं, उहाँहरू बुझ्नुहुन्न ।’

उनले मोटरसाइकल समेत नियन्त्रणमा लिएकाले लकडाउनपछि मात्रै दिने डीएसपी भण्डारीले बताए । ‘हामीले आज मात्रै ८ वटा मोटरसाइकल नियन्त्रणमा लियौं, तरहरा क्षेत्रमा मात्रै हिजो २४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको अवस्था छ,’ उनले भने, ‘अस्ति–अस्तिका मोटरसाइकल नियन्त्रणमा लिएका कारण आजबाट केही कम भएको छ, हामी अब लकडाउन पछि मात्रै यी मोटरसाइकल फिर्ता गर्छौं ।’ यसअघि इटहरी प्रहरीले लकडाउन पालना नगर्नेलाई नियन्त्रणमा लिन मेन क्याच डिभाइस तयार पारेको थियो भने इटहरी क्षेत्रमा कोरोनाबाट बच्न घर बाहिर ननिस्कने सन्देशसहितको गीतमार्फत सचेतना जगाउने काम गरिँदै आएको छ ।

यस्तै, छिमेकी नगर धरानमा भने लकडाउन उल्लंघन गर्नेलाई इलाका प्रहरी धरानले धरानको पब्लिक स्कुलमा राख्ने गरेको छ । लकडाउन उल्लंघन गर्नेहरूलाई चौरीमा राखेर सचेत गराई घर पठाउँने गरिएको धरानका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।