१५ चैत्र २०८०, बिहीबार

सुनसरीमा अघोषित ‘कर्फ्यु’, बाटोमा निस्किनेलाई क्वारेन्टाइन पठाइने

itahari 1

प्रदेश १ मा एकैदिन १२ जनालाई कोरोना संक्रमणको पुष्टि भएपछि यहाँका जिल्लाबासीहरु त्रसित भएका छन्। सुनसरीको छिमेकी जिल्ला उदयपुरको एक मस्जिदमा १२ जना कोरोना संक्रमित पुष्टि भएपछि सुनसरीमा विशेष सर्तकता अपानाइएको छ।

जिल्ला प्रहरी कर्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) विनोद शर्माका अनुसार जिल्लाका मुख्य स्थानहरुमा थप कडाइसँगै सतर्कता अपनाइएको छ। उनका अनुसार इटहरी, धरान, इनरुवा तथा बराह क्षेत्रमा प्रहरीले कडाइ थालेको छ।

उनले सडकमा जोकोही निस्किए पनि क्वारेन्टाइनमा पठाइने चेतावनी दिए। ‘आजबाट सब्जी पनि बेच्न पाइनेछैन। जो बाटोमा निस्किन्छ सिधै टाँडीको क्वारेन्टाइनमा पठाउँछौं, उनले भने।

भारतीयहरु सुनसरीको नाका हुँदै आउनसक्ने भन्दै सीमामा थप सतर्कता अपनाइएको छ। सडकमा आजबाट सुरक्षाकर्मी र स्वास्थ्कर्मीबाहेक अन्य सवारी साधन पनि गुडन नदिइने उनले बताए। त्यसका लागि माइकिङ पनि सुरु गरिएको उनले बताए।

इटहरीका सबै मस्जिद सिल गरियो

उदयपुरमा १२ जनालाई कोरोना संक्रमणपछि इटहरीका सबै मस्जिद सिल गरिएको छ। यहाँका विभिन्न मस्जिदमा बाहिरी देशका मुस्लिम धर्मावलम्बीहरु हुनसक्ने र कोरोना भाइरस संक्रमणको सम्भावना उच्च रहेको भन्दै इटहरीमा अवस्थित सबै मस्जिदहरु सिल गरिएको छ।

केही दिनअघि मात्रै वीरगञ्जमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएका नागरिकहरु सुनसरीको दुहवी र इनरुवाको मस्जिदमा बसेको खुलेको थियो।

इटहरी उपमहानगरपालिकाकी उप प्रमुख लक्ष्मी गौतमका अनुसार शुक्रबारदेखि नै यहाँका सबै मस्जिद खाली गरी त्यहाँ भएका मानिसहरुलाई क्वारेन्टाइनमा राखिएको छ।

यहाँ रहेका १४ वटा मस्जिद प्रशासनको प्रत्यक्ष निगरानीमा सिल गरिएको गौतमले बताइन्।