१४ बैशाख २०८१, शुक्रबार

छ विद्यार्थी, तीन शिक्षक

teacher

डडेलधुराको अमरगढी नगरपालिका–१ ढुनढुनेमा रहेको भुवनेश्वरी प्राथमिक विद्यालयका प्रधानाध्यापक मोहनसिंह ऐरले गुनासो गर्दै भन्नुभयो ‘६ विद्यार्थी छन्, तिन शिक्षक छौँ स्कुल तिन कक्षा सम्मको हो ।’

बाल विकासदेखि कक्षा ३ सम्म १४ जना विद्यार्थी रहेको विद्यालयको अभिलेखको तथ्याङ्कमा छ । तर, विद्यालयमा ६ जना विद्यार्थी मात्रै नियमित रूपमा आउने गरेका छन् ।

‘भुवनेश्वरी प्राथमिक विद्यालय’ भनेर भित्तामा लेखिएको छ । तर, विद्यालयमा विद्यालयको नाम लेखेको बोर्ड समेत छैन । झट्ट हेर्दा बाहिरबाट विद्यालयमा पुग्ने जो कोही विद्यालय हो कि होइन भनेर झुक्किन्छन् ।

२०५६ सालमा स्थापना भएको यो विद्यालयमा २०५७ देखि पठनपाठन सुरु भएको विद्यालयका प्रधानाध्यापक ऐर बताउनुहुन्छ । विद्यालयमा ह्वाइट बोर्ड समेत छैन । परम्परागत कालोपाटीमा खरीले लेखेर सिकाउनुपर्ने अवस्था छ ।

बाल विकास र एक कक्षाका विद्यार्थीलाई सँगै राखेर पढाइन्छ भने कक्षा दुई र तीनका विद्यार्थीलाई सँगै राखेर पढाइने गरेको विद्यार्थी चित्रा ऐरले बताइन । ‘दुई र तीनमा पढ्ने विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउनुहुन्छ । हामी सबैले एउटै कुरा पढ्नुपर्छ,’ उनले भनिन ।

कक्षा ५ सम्म पढाइ हुने यो विद्यालयमा अमरगढी नगरपालिकाले नगरभित्रका विद्यालय समायोजन गरेपछि कक्षा तीन सम्म मात्रै पढाइ हुन्छ । विगतका दिनमा विद्यालयमा विद्यार्थीको सङ्ख्या उल्लेखनीय रहेको पूर्व विद्यार्थी पवन ऐरले जानकारी दिनुभयो ।

विद्यालयमा शिक्षकको मन लाग्दी हुने गरेको विद्यार्थी बताउँछन् । पढाउने मन लागे पढाउने नत्र छुट्टी भन्दै घर पठाउने गरेको विद्यार्थी ललित ऐरको भनाइ छ । ‘कहिले काहीँ त विद्यालयमा हामी मात्रै आउँछौँ ।’

संस्थागत विद्यालय सञ्चालन गर्न नजिकको विद्यालयबाट अनुमति लिनुपर्ने भए पनि भुवनेश्वरी प्राथमिक विद्यालयबाट अनुमति नलिएर विद्यालयबाट निकै टाढा रहेको बैजनाथ मावि मौरडाबाट अनुमति लिएको विद्यालयका प्रअ ऐरको भनाइ छ ।