७ बैशाख २०८१, शुक्रबार

चुनावी मैदानमा अघि बढिसक्यो कांग्रेस: उपसभापति गुरुङ

congress photo

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले नेपाली कांग्रेस चुनावी मैदानमा अघि बढिसकेको बताउनुभएको छ ।

नेपाली कांग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको ‘वर्तमान अवस्थामा काँग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा उहाँले तीनै तहको निर्वाचनमा काँग्रेसलाई सबैभन्दा ठुलो पाटी बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले एमसिसी परियोजना राष्ट्रघाती नभएको उल्लेख गर्दै यस बारेमा जनतालाई बुझाउन आवश्यक रहेको बताउनुभयो ।

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आगामी बैसाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन एक दिन पनि तलमाथि नहुने भएकाले निर्वाचनमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

संसद् सुचारु गर्न एमालेसँग नेपाली काँग्रेसले आग्रह गरिरहेको भन्नुहुँदै संसद् बन्धक बनाउन नहुने उहाँले बताउनुभयो ।

महामन्त्री थापाले पटक पटक हुने सरकार परिवर्तन र मुलुकको राजनीतिक अवस्थाका कारण जनतामा नैराश्यता छाएकाले सुशासन र संवृद्धि कायम गरेर जनताप्रतिको नैराश्यता सरकारले हटाउन सक्नुपर्ने बताउनुभयो ।

उहाँले मुलुकको विकास र संवृद्धि देख्न नचाहनेहरूले एमसिसिको विरोध गरिरहेको बताउँदै डा बाबुराम भट्टराई लगायत त्यसपछि बनेका प्रधानमन्त्री तथा मन्त्रीहरूले एमसिसी परियोजना स्वीकार गरेको र एमसिसी नेपालको हितमा रहेकाले त्यस्तो विरोध गर्नुको अर्थ छैन भन्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने बताउनुभयो । उहाँले विशेष परिस्थितिमा संविधान रक्षाका लागी गठबन्धन बने पनि आगामी तीनै तहको निर्वाचनमा कांग्रेस एक्ले चुनाव लड्ने प्रस्ट पार्नुभयो ।

उहाँले एमसिसीका बारेमा जनतालाई प्रस्ट पार्न पार्टीले अभियान सञ्चालन गर्न लागेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री डा मिनेन्द्र रिजालले सदनबाट एमसिसी पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस महामन्त्री गगन थापाले खेलेको भूमिकाको चर्चा गर्दै एमसिसी परियोजनाको बारेमा जनतामा गलत प्रचार भइरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. डिला सङ्ग्रौला, अमृत अर्याल, राजीव कोइराला, सरिता प्रसाईँ तथा काँग्रेस नेता डा. चन्द्र भण्डारी लगायतले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस महानगर सभापति दिपक चापागाईँको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।