१५ बैशाख २०८१, शनिबार

आश्वासन बाँड्न थाले डडेलधुरामा उम्मेदवारले

dadeldhura

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको मुख्य जिम्मेवारी सरकारको नीतिगत निर्णय गर्ने भए पनि जनताको अपेक्षा विकास केन्द्रित हुने गरेको छ । चुनावको बेला नेताहरूले बाँड्ने सपनाका कारण पनि डडेलधुराका जनताले विकास केन्द्रित अपेक्षा बढी राख्ने गरेका हुन् ।

डडेलधुराको भागेश्वर गाउँपालिका वार्ड नंं २ बिस्तडीका काले सार्की २०४८ साल यताका हरेक निर्वाचनमा गाँउ आउने नेताहरुसँगै एउटै माग राख्दै आएका छन् । भोटको अपेक्षाले उनलाई भेट्ने नेताहरूलाई गाउँमै कृषिमा रोजगारीको वातावरण बनाई आग्रह गर्ने गर्दछन् ।

डडेलधुरा सदरमुकाम देखि झण्डैं ४० किलोमिटर पश्चिममा पर्ने उनको गाउँका ७० प्रतिशत भन्दा बढी युवा अहिले पनि रोजगारीको खोजीमा गाउँ बाहिर छन् । 

देशको सत्ता परिवर्तनसँग कुनै सरोकार नहुने जनताले गाउँमा समृद्धिको अपेक्षा गरेको हुन्छन् । नेताहरूले कहिले ‘एक गाउँ एक उत्पादन’ त कहिले ‘एक गाउँ एक कृषि प्राविधिक’ नारामा भुलाएका जनताको अवस्थाका कुनै परिवर्तन आएको छैन ।

२०४८ साल यता प्रतिनिधि सभामा डडेलधुराबाट काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले लगातार प्रतिनिधित्व गर्दै आएका छन् । डडेलधुरा जिल्लाका दुई प्रदेशमा एकमा एमाले र एक नेपाली काँग्रेसले विजयी भएको थियो । 

जनताका समस्या समाधान गर्न नेताहरू जागरूक नभएकै कारण जिल्लाको औसत अवस्था सुधार नभएको बुद्धिजीवीको बुझाई छ ।

डडेलधुराका २४ हजार ७ सय ९७ किसान परिवारमध्ये कृषिजन्य उत्पादनले वर्षभरि खान पुग्ने परिवार सङ्ख्या ५ हजार ३ सय ७३ अर्थात् २२ प्रतिशत मात्रै छन् । 

१०० मध्ये ७८ किसान परिवारलाई वर्षभरको मिहेनतको उब्जाउले फेटभरि खान पनि पुग्दैन । जिल्लाभर १० हजार ६ सय ७० हेक्टर कृषियोग्य क्षेत्रफलको जम्मा २९ प्रतिशत भूभागमा मात्रै सिंचाई सुविधा छ । गाउँ पुग्ने नेतालाई आफ्नो गाउँको शिक्षा, स्वास्थ्य, बाटोघाटो र खानेपानी लगायतका कुरा सुधारको माग राख्दै आएका जनताका अपेक्षा पुरा गर्नु जरुरी छ ।