Close Me
१३ चैत्र २०८१, बिहीबार

सीपीसीको २० औं महाधिवेशनबाट राष्ट्रपति सी तेस्रो कार्यकालका लागि अनुमोदन

china Xi Jinping

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को २०औँ महाधिवेशनले राष्ट्रपति सी जिनपिङको तेस्रो कार्यकाललाई अनुमोदन गरेको छ ।

आज सम्पन्न महाधिवेशनले २ सय ५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । शक्तिशाली पोलिटब्युरो स्ट्यान्डिङ कमिटीका सदस्यहरू प्रधानमन्त्री ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेनलाई बिदा गरिएको छ ।

वाङ चीनको पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सको अध्यक्ष हुन् भने हान उपप्रधानमन्त्री हुन् । ली चान्सु चिनियाँ जन कंग्रेसका अध्यक्ष हुन् । पार्टीभित्र तेस्रो वरियतामा रहेका लीले भदौको अन्तिम साता नेपालको भ्रमण गरेका थिए ।

प्रधानमन्त्री ली दोस्रो वरियतामा रहेका थिए । विदेश मन्त्री वाङ यी भने केन्द्रीय कमिटीमा परेका छन् । सामान्यतया चीनमा ६८ वर्षभन्दा बढी भएका नेतालाई जिम्मेवारीबाट अवकाश दिने गरिएको छ । वाङ ६९ वर्षका भएका छन् । २ सय ५ सदस्यीय केन्द्रीय कमिटी ११ जना मात्रै महिला रहेका छन् ।

केन्द्रीय कमिटीले पोलिटब्यूरो र स्ट्यान्डिङ कमिटीको गठन गर्ने छ । केन्द्रीय कमिटीको पहिलो बैठक भोलि बस्ने छ । एक साता चलेको महाधिवेशनले पाँच वर्षअघि अपनाएको सी विचारधारा झनै सशक्त बनाउने प्रस्ताव पारित गरेको छ ।

चिनियाँ विशेषताअनुसारको चिनियाँ समाजवादसम्बन्धी सी विचारधारालाई पार्टीको विचारको सार रूपमा अघि बढाउने निर्णय गरेको छ । त्यसैअनुरूप हुने गरी पार्टीको विधानलाई पनि संशोधन गरिएको छ । पाँच वर्षअघि भएको पार्टीको १९ औँ महाधिवेशनले सी विचारधारालाई अपनाउने निर्णय गरेको थियो ।