१५ चैत्र २०८०, बिहीबार

टिक्ला त सत्ता गठबन्धन ?

Gath sher Prachanda Madhav 1
फाइल फोटो

अमेरिकी सहयोग परियोजना (एमसीसी)को विषयलाई लिएर सत्ता गठबन्धनभित्रको विवाद गठबन्धन रहने कि भत्कने भन्ने तहमा पुगेको छ । सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीविरुद्ध उभिँदा सत्तागठबन्धन संकटमा परेको हो ।

एमसीसी विवादले सत्तागठबन्धन धर्मराएको छ । बुधबार सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीको प्रस्ताव संसदमा लैजाने अन्तिम तयारी थालेपछि माओवादी र एकीकृत समाजवादी धर्मसंकटमा देखिए । माओवादीले त संसदीय दलको बैठक राखेर एमसीसीको प्रस्ताव आए सत्तागठबन्धन छाड्ने चेतावनी नै दियो ।

माओवादीको बैठक जारी रहँदा अर्को सत्तारुढ दल एकीकृत समाजवादीका कार्यकर्ताहरु बानेश्वरमा सडक आन्दोलनमै उत्रिसकेका थिए । माओवादी संसदीय दलको बैठकको निष्कर्ष सुनाउन अध्यक्ष प्रचण्ड बालुवाटार पुग्नुभयो ।

एमसीसीको प्रस्ताव टेबल गर्न खोजे सत्तागठबन्धन छाड्ने भन्दै प्रचण्डले एमसीसीमा थप छलफल गर्न आग्रह गरेपछि देउवा तयार हुनुभयो । बालुवाटारमा प्रचण्ड र देउवाबीच त्यस्तो सहमति भएपछि एमसीसीको प्रस्ताव नराखिकनै संसदको कार्यसूची सार्वजनिक भयो ।

एमसीसीमा सहमति खोज्न सत्तारुढ दल बिहीबार पुनः छलफलमा जुट्दैछन् । सहमति खोजेर शुक्रबारको संसद बैठकमा एमसीसी प्रस्ताव लैजाने प्रष्ट संकेत प्रधानमन्त्री शेरबहादुर देउवाले गरिसक्नुभएको छ ।

माओवादीजस्तै सत्तागठबन्धनको अर्को दल एकीकृत समाजवादी पार्टी पनि एमसीसीको विरोधमा छ ।

सत्तारुढ दलहरुबीच सहमति जुटाएर एमसीसी फागुन ६ गते संसद बैठकमा टेबुल गर्ने प्रधानमन्त्रीको तयारी रहे पनि छलफलका नाममा एमसीसीलाई अल्झाइरहने रणनीतिमा माओवादी र एकीकृत समाजवादी देखिन्छन् ।

यस्तो अवस्थामा प्रधानमन्त्री देउवा माओवादी र एकीकृत समाजवादीलाई मनाउन सफल हुनुहोला वा गठबन्धन तोडिए पनि एमसीसी अघि बढाउने बाटोमा जानुहोला ? चासोका साथ हेरिएको छ ।