१४ बैशाख २०८१, शुक्रबार

अन्तिम चरणमा स्थानीय निर्वाचनका लागि कार्यविधि र निर्देशिका, आइतवारदेखि दैनिक प्रेस ब्रिफिङ

Election Commission Nepal

निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको तयारीको कामलाई तीव्र पारेको छ ।

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि निर्वाचन नियमावली अनुसार आन्तरिक गृहकार्यलाई तीव्र पारेको आयोगले जनाएको छ ।

मतदाता नामावली संकलनलाई रोकेर त्यसलाई अद्यावधिक गर्ने काम गरिरहेको आयोगले निर्वाचनका लागि चाहिने सामान्यदेखि संवेदनशील गरी करिब ६० प्रकारका सामग्री खरिदको तयारी थालेको छ । त्यसका लागि बजेटलाई अन्तिम रुप दिन लागिएको आयोगका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना र जिल्लाहरुमा जनशक्तिको विवरण लिने काम समेत गरिहेको जनाएको छ । अहिले भइरहेका सबै कामहरु पूरा गरी एकसाता भित्र निर्वाचन कार्यतालिका सार्वजनिक गरिने आयोगको भनाइ छ । अहिले स्थानीय निर्वाचनका लागि कार्यविधि र निर्देशिकाको काम पनि अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।

निर्वाचन कार्यतालिका अन्तर्गत कार्यविधी, बजेट तर्जुमा, दल दर्ता, मतदाता नामवली, उम्मेदारी दर्ता, निर्वाचन अधिकृत नियुक्ति लगायतका विषय समेटिनेछन् । यसपटकको निर्वाचनमा करिब एक करोड ८० लाखभन्दा बढी मतदाता रहने आयोगको अनुमान छ ।

आइतवारदेखि निर्वाचनबारे दैनिक प्रेस ब्रिफिङ

निर्वाचन आयोगले पर्सी आइतबारदेखि स्थानीय तह निर्वाचन सम्बन्धी तयारीका साथै आयोगसँग सम्बन्धित विषयमा दैनिक जानकारी दिने तयारी गरेको छ ।

आयोगले मिडिया सेन्टरमा हरेक दिन अपरान्ह ४ बजे प्रेस मिट गरेर आयोगको गतिविधिबारे दैनिक रुपमै ब्रिफिङ गर्ने तयारी गरेको हो । आयोगका उपसचिव कमल ज्ञवालीले आज जारी गरेको सूचनामा आइतबारदेखि हरेक दिन अपरान्ह ४ बजे मिडिया सेन्टरमा प्रवक्ता तथा सहायक प्रवक्ताको उपस्थितिमा प्रेस मिट हुने तय भएको उल्लेख गरिएको छ ।

आयोगले आसन्न स्थानीय निर्वाचनबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग छलफल गर्दै यस्तो तयारी गरेको हो । यस्तै आगामी वैशाख २९ गतेसम्म १८ वर्ष पुगेका मतदाताहरूले स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

आयोगको आजको बैठकले निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पुगेका मतदाताले मतदानमा सहभागी हुन पाउने निर्णय गरेको हो । सो मितिमा १८ वर्ष पुगेकाहरुलाई परिचयपत्र २७–२८ गतेमात्रै वितरण गर्ने तयारी छ । यसअघि निर्वाचन घोषणा भएको मितिलाई कटअफ डेट मानेर निर्वाचनमा सहभागी गराउने गरेको थियो ।