११ बैशाख २०८१, मंगलवार

प्रतिनिधिसभा निर्वाचनमा नौ अर्ब लाग्ने

Election Commission Nepal

निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित खर्चको आँकडा तयार गरेको छ ।आयोगले दुई चरणमा गरेर हुने निर्वाचनका लागि करिब ९ अर्ब अर्थात् ८ अर्ब ९८ करोड खर्च अनुमान गरेको हो । आयोगले मतदानका लागि बनाइने बुथदेखि मतगणनासम्मका लागि सो रकम खर्च हुने भनेको छ । सो अनुमानित रकममा सुरक्षातर्फको खर्च भने समावेश नहुने आयोगले जनाएको छ ।

आयोगका अनुसार निर्वाचन प्रक्रियामा लाग्ने कागजदेखि लजिस्टिक सामग्री खरिद र निर्वाचन प्रक्रियाको व्यवस्थापनमा सो रकम खर्च हुनेछ । ‘निर्वाचन प्रक्रियामा लाग्ने कागजदेखि लजिस्टिक सामग्री खरिद र निर्वाचन प्रक्रियाको व्यवस्थापनमा आयोगले माग गर्ने रकम खर्च हुन्छ, बुथ निर्माणदेखि मतगणनासम्ममा लाग्ने खर्च आयोगले अनुमान गरेको हो,’ आयोग उच्च स्रोतले भन्यो ।

आयोगले सरकारसँग निर्वाचनका लागि बजेट माग गरेपछि आवश्यक सामग्री खरिदका लागि टेन्डर गर्ने तयारीसमेत गरिरहेको छ । ‘पहिले सरकारलाई खर्चको अनुमान पेस गर्छौं, त्यसपछि निर्वाचन सामग्री खरिदका लागि टेन्डर सुरु गर्छांै,’ आयोगका ती अधिकारीले भने । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने निर्वाचन खर्चका विषयमा छलफल भइरहेको र एक/दुई दिनमा नै टुंगो लाग्ने बताए । राजधानी दैनिकबाट