११ बैशाख २०८१, मंगलवार

झन् दरार एमसीसीले गठबन्धनमा

Dauba prachand madhav and upendra 1024x416 1
फाइल फोटो

एमसीसी संसद्बाट तत्काल अनुमोदन गर्ने कि नगर्ने विषयले सत्तारुढ गठबन्धनमा झन् दरार उत्पन्न भएको छ। कांग्रेस जसरी पनि अमेरिकी अनुदान सहायता सम्झौता अनुमोदन गरी अघि बढ्ने पक्षमा छ। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तत्काल सम्झौता अनुमोदनको पक्षमा देखिएका छैनन्।

गठबन्धनका मुख्य तीन दलका नेताबीच यही विषयमा बिहीबार बालुवाटारमा छलफल भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्न बालुवाटार पुगेका थिए। देउवा र दाहालले एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएपश्चात् तीन नेताको पहिलो जमघट हो यो। दाहालले एमसीसीको विषय चुनावपछि लैजाने प्रस्ताव गरेको बालुवाटार स्रोतले बतायो।

दाहालको प्रस्ताव थियो, ‘पत्र सार्वजनिक भएसँगै पार्टीभित्र समस्या सिर्जना भएको। साथीहरूको धारणा पनि सुन्नुपर्ने हुनाले बरु निर्वाचनपछि एमसीसीको विषयलाई जोडौं।’ दाहालकै पछि लागेका नेपालले अहिले एमसीसीको पक्षमा जान नसकिने जवाफ प्रधानमन्त्री देउवालाई दिएका थिए।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीका विषयमा विशेष छलफल भएको बताए। सभामुखले एमसीसीलगायत सरकारी विधेयक रोक्न नमिल्ने डा. महतको भनाइ छ। ‘सभामुखको काम के हो ? सरकारका महत्वपूर्ण विधेयकहरू सदनमा टेबल गर्ने नै हो जस्तो लाग्छ’, डा. महतले भने, ‘एमसीसीबारे पनि छलफल भएको छ। अन्योल समाप्त गरेर संसदीय प्रक्रिया अघि बढाउनुपर्छ। संसद्मा एमसीसी लानुपर्छ भन्नेमा साथीहरूको धारणा छ।’ यो समाचार आजको अन्नपूर्ण पाेष्ट दैनिकमा छ ।