१६ बैशाख २०८१, आईतवार

प्रतिस्थापन विधेयक नल्याइँदा छ अध्यादेश निष्क्रिय

nepal parliament building
फाइल फोटो

सरकारले समयमा प्रतिस्थापन विधेयक नल्याउँदा छवटा अध्यादेश एकै पटक निष्क्रिय भएका छन् । अधिवेशनको पहिलो बैठकमा पेस भएको मितिले ६० दिनभित्र प्रतिस्थापन नभएका कारण अध्यादेश निष्क्रिय भएका हुन् ।

महिला हिंसाविरुद्धको कसुरमा हुने कारबाही, तेजाबलगायतका घटनाका कसुरमा हुने कारबाही र रेल–वे सञ्चालनसम्बन्धी अध्यादेशहरू एकै पटक निष्क्रिय भएका हुन् ।

बिहीबारसम्म अस्तित्वमा रहेका ती अध्यादेश मङ्सिर २८ गतेको बैठकमा पेस भएका थिए । प्रतिनिधि सभाको बैठक फागुन २ गतेमात्र बोलाइएको र विधेयकसमेत दर्ता नभएकाले प्रतिस्थापन हुने अवस्था छैन । सरकारले संसद्को चालू अधिवेशन सिफारिसको एक दिनअघि अध्यादेश सिफारिस गरेको थियो ।

सिफारिसलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्सिर १५ गते अध्यादेश जारी गर्नुभएको थियो । रेल–वे अध्यादेश विचाराधीन विधेयक फिर्ता लिएर जारी गरिएको थियो । अधिवेशनको पहिलो बैठकमा अध्यादेश पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सोहीअनुसार पेस भएका अध्यादेशहरू प्रतिनिधि सभाले भने स्वीकृत गरेको थियो तर प्रतिस्थापनका लागि सरकारले विधेयक नल्याएपछि निष्क्रिय भए ।

संविधानको धारा ११४ ले दुवै सदन बसेको ६० दिनभित्र प्रतिस्थापन नभएमा स्वतः निष्क्रिय हुने व्यवस्था छ ।