१४ बैशाख २०८१, शुक्रबार

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले भने– एमसीसी फिर्ता लैजाऊ

Bamdev Gautam 1
फाइल फोटो

नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका राष्ट्रियसभा सदस्य वामदेव गौतमले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) फिर्ता गर्न अमेरिकी सरकारलाई आग्रह गरेका छन् ।

अमेरिकी सहयोग परियोजना एमसीसी नेपालमा विवादित हुँदा जनमत पनि विभाजित हुन पुगेकाले संसद्‌बाट पारित हुने स्थिति पनि न्यून नभएको भन्दै परियोजनालाई फिर्ता लान गौतमले आग्रह गरेका हुन् । उनका अनुसार विवादित परियोजनाले नेपालको अहित गर्नेछ ।

मंगलबार बिहान विज्ञप्ति जारी गर्दै गौतमले भनेका छन्, “अहिले आएको एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सिर्जना भएको स्थिति देखिएको छ ।

नेपालको अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकार र संसदले पनि अनुमोदन गर्नसक्ने अवस्था देखिन्न । यस्तो अवस्थामा म नेपाल सरकार र अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।”

नेपालको हितका लागि एकपक्षीय रूपमा भए पनि अमेरिकी सरकारले परियोजना फिर्ता गर्नुपर्नेमा पनि गौतमको जोड छ ।

उनले एमसीसी सम्झौता कार्यान्वयन गरिँदा नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको पनि बताएका छन् । एमसीसी परियोजनाका कारण सत्तारूढ पाँचदलीय गठबन्धन संकटमा परेका बेला नेता गौतमको यो अभिव्यक्ति आएको हो ।