१४ बैशाख २०८१, शुक्रबार

निरन्तर हिमपातका कारण पशुचौपायलाई चरन क्षेत्रको अभाव

photo 1 768x363 1

ताप्लेजुङको हिमाली तथा लेकाली क्षेत्रमा पुन : हिमपात भएको छ । बिहीबार रातीदेखि जिल्लाको हिमाली र उच्च लेकाली पहाडी क्षेत्रमा हिमपात भएको हो ।

हिमपातका कारण चिसो ह्वातै बढेको छ । पटक–पटक भएको हिमपातका कारण मानिससँगै पशु चौपायालाई पनि समस्या भएको छ । ताप्लेजुङका उच्च हिमाली बस्ती घुन्सा, फले, याङमा, ग्याब्ला, ओलाङचुङगोला, तोक्पेगोला, मिल्केजलजले क्षेत्र लगायत पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भइरहेको स्थानीयले बताएका छन् ।

यस पटक उच्च लेकाली क्षेत्रमा यसअघि परेको हिउँ बिलाउन नपाउँदै फेरि हिउँ थपिएपछि चिसो बढेको र जनजीवन कष्टकर बनेको घुन्साका छिरिङ शेर्पाले जानकारी दिनुभयो ।

यसअघि परेको हिउँ पग्लन नपाउँदै थप हिउँ परेर जमिन ढाकेकाले पशुचौपायलाई चरन क्षेत्रको अभाव भएको ग्याब्लाका छ्वाङ शेर्पाले बताउनुभयो । पटक–पटक हिमपात हुँदा पहिले भण्डारण गरी राखेको घाँसपात सकिएकाले अहिले पशुचौपायलाई के खुवाउने भन्ने समस्या रहेको उहाँले बताउनुभयो ।