१५ बैशाख २०८१, शनिबार

पहिरोमा हराएकाहरुको कुशको शव बनाएर दाहसंस्कार

kus1687577660

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा पहिरोमा परी बेपत्ता भएकाहरुको दाहसंस्कार गरिएको छ । हराएको सातौँ दिनसम्म पनि नभेटिएपछि कुशको शव बनाइ परिवारले दाहसंस्कार गरेका हुन् ।

गत शनिबार राति आएको पहिरोमा परी एकैपरिवारका सासु, बुहारी र नाति बेपत्ता भएका हुन् । मेहेलेको भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, बुहारी ३३ वर्षीया सन्ध्या र नौ वर्षका नाति प्रज्वल बुढाक्षेत्री बेपत्ता छन् ।

चारजना बस्दै आएकोमा घरमुली यादव बुढाक्षेत्री पारिवारिक कामले नजिकैको गाउँ पेदाङ गएकाले बाच्न सफल भएका छन् । कतारमा रोजगारीका लागि गएका यादवका छोरा विदुर बुढाक्षेत्री फर्किएपछि कुशको शव बनाइ काबेली नदीमा अन्त्यष्टि कार्य गरिएको छिमेकी खेलप्रसाद बुढाक्षेत्रीले जनाए ।

पहिरोमा परी यसै वडाका तीनजनाको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको विराटनगरमा उपचार भइरहेको छ ।