२५ बैशाख २०८१, मंगलवार

एकै चरणमा निर्वाचन

Sher Bahadur Deuba 5
फाइल फोटो

स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते एकै चरणमा हुने भएको छ । अब बस्ने मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति तोक्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया नेतृत्वको टोलीबीच भएको छलफलमा जेठ ४ गते एकैचरणमा चुनाव गर्ने सहमति जुटेको हो ।

छलफलपछि प्रधानमन्त्री देउवाले एकैचरणमा चुनाव गर्ने गरी तयारी थाल्न आयोगलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा आज निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री देउवासँगको छलफलमा जेठ ५ अगाडि नै चुनाव गर्नु उपयुक्त हुने सल्लाह दिएको थियो ।

प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद् बैठकले मिति तोक्ने बताउनुभयो । सत्तारूढ ५ दलीय गठबन्धनले जेठ महिनाभरमा निर्वाचन गर्ने गरी मिति तोक्न सकारलाई सुझाव दिने निर्णय गरेको थियो । यसअघि निर्वाचन आयोगले वैशाख १४ र २२ गतेको मिति प्रस्ताव गरेको थियो ।

गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले निर्वाचन केही समय पर सार्ने प्रयास गरेका थिए । तर चौतर्फी दबाबका कारण उनीहरू जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएका थिए ।

गठबन्धनले निर्वाचन कानून संशोधन गरेर मात्रै स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको छ ।