१४ बैशाख २०८१, शुक्रबार

तनावपूर्ण स्थिती पैदा हुदै मौरिससमाथि नेपालको लगातार दोस्रो जित

nepal

नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा मौरिससमाथि जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा १० खेलाडीमा सिमित नेपालले ९ खेलाडीमा सिमित मौरिससमाथि १-०को जित निकालेको हो ।

नेपालको जितमा सुजल श्रेष्ठले एकमात्र निर्णायक गोल गरे । खेलको १०औं मिनेटमा पूजन उपरकोटिले बक्स भित्रबाट गरेको ब्याक फ्लिकलाई सुजलले वान टचमै गोल गरेका हुन् । सुजलले २०१६ मा सोलिडारिटी कपमा नेपालका लागि अन्तिम गोल गरेका थिए ।

खेलको १२औँ मिनेटमा नै मौरिससले खेल बराबरी गर्ने अवसर पाएको थियो । पेनाल्टी बक्समा दिनेश राजवंशीले कप्तान एन्डी सोफीलाई फउल गर्न पुगेपछि रेफ्री नविन्द्र महर्जनले मौरिससलाई पेनाल्टी प्रदान गरेको थियो । तर कप्तान एन्डी सोफीले प्रहार गरेकाे पेनाल्टीलाई नेपाली गोलरक्षक किरण चेमजोंगले बचाउन सफल भए । 

मैत्रीपूर्ण भएपनि खेलको अन्त्यतिर तनावपूर्ण स्थिती पैदा भएको थियो । नेपालका एक जना खेलाडी र एक अफिसियलले रातो कार्ड पाउँदा मौरिससका २ खेलाडी रातो कार्डका कारण मैदान छाडेका थिए । खेलमा खेलाडीमाथि पहेँलो कार्डको पनि वर्षा भएको थियो ।  

खेलमा अफ्रिकन राष्ट्र मौरिसस शारीरिक रुपमा बलियो देखिएको थियो । सोहीअनुुसार उसले राम्रा मौकासमेत सृजना गरेको थियो । यद्यपि मौरिसस फिनिसिङमा चुकेको थियो । खेलमा थपिएको इञ्युरी समय रंगशालाको लाइट कम भएका कारण केहीसमय रोकिएको पनि थियो । 

नेपालले पहिलो खेलमा १–० को जित निकालेको थियो । उक्त खेलमा विम घर्तीमगरले गोल गरेका थिए ।