१३ बैशाख २०८१, बिहीबार

एकपक्षीय जीत मरिसससँगको मैत्रीपूर्ण खेलमा

nepal football123

पाहुना टोली मरिसससँगको मैत्रीपूर्ण खेलमा नेपालले एकपक्षीय जीत निकालेको छ ।

घरेलु मैदानमा भएको दुई खेलमा नेपालले दुवै खेल १–० गोलले जितेको हो । मंगलवार भएको दोस्रो मैत्रीपूर्ण खेलमा सुजल श्रेष्ठको एक गोलको मद्दतमा नेपालले अफ्रिकी राष्ट्र मरिससलाई पराजित गरेको हो । उनले खेल शुरु भएको १० औं मिनेटमा नै गोल गरेका थिए ।

निकै तनावपूर्ण खेलमा १० खेलाडीमा सीमित भएको नेपालले ९ खेलाडीमा समेटिएको मरिससलाई १–० गोल अन्तरले पराजित गरेको हो । आशिष लामाले प्रहार गरेको बलमा पेनाल्टी क्षेत्र भित्र रहेका पुजन उपरकोटीले उपलब्ध ब्याक फ्लिप पासमा सिक्स यार्ड बक्सबाट सुजलले वान टचमा गोल गरेका थिए । यता, मरिसस पेनाल्टीमा चुक्दा नेपालसँग लगातार हार बेहोर्न बाध्य भएको हो ।

खेलको ७० औं मिनेटमा मरिसस र नेपाल १० खेलाडीमा समेटियो । एक अर्काविरुद्ध घम्साघम्सीमा उत्रिएपछि मरिससका एड्रियन बोटलरले दुई पहेलो कार्डसहित रातो कार्ड पाए । नेपालका पुजन उपरकोटीलाई पनि रातो कार्ड देखाउदै रेफ्री नविन्द्र महर्जनले मैदानबाट बाहिर पठाए । ७८ औं मिनेटमा मरिसस ९ खेलाडीमा समेटियो । गौतम श्रेष्ठलाई फउल गरेपछि मरिससका इम्यानुएलले रातो कार्ड पाएका थिए ।

जितसँगै नेपालले मरिससविरुद्ध लगातार दोस्रो जित निकाल्न सफल भएको छ । शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १–० गोल अन्तरले हराएको थियो । पहिलो खेलमा नेपालको जितमा विमल घर्तिमगरले निर्णायक गोल गरेका थिए ।