८ बैशाख २०८१, शनिबार

आश्चर्यजनक: हराएकै छैन खोप भने किन छानबिन समिति ?

Birodh
फाइल फोटो

कि त मन्त्रीहरुले आफ्ना मन्त्रालयबारे कुनै जानकारी राख्दैनन् कि त जनतालाई झुक्याउने प्रयास गर्छन् । यस्तै भएको छ, स्वास्थ्य मन्त्री विरोध खतिवडाको पछिल्लो भनाइ ।

मन्त्रालयका सचिवले खोप हराएको संसदीय समितिमै जानकारी मात्र गराएनन् खोप खोज्न समिति नै गठन गरियो । तर, अचम्म स्वास्थ्यमन्त्री खतिवडा भन्नुहुन्छ– खोप हराएकै छैन । त्यसो भए मन्त्रालयले छानबिन समिति किन बनायो त ?

यो भनाइ हो, नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको । गत आइतबार हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा बोल्दै उहाँले २४ लाख डोज खोप हराएकै छैन भन्न भ्याउनुभयो ।

मन्त्री खतिवडालाई फेरि सोधियो, तर पनि खोप चोरी नभएको फण्डा मात्र गरिएको उहाँको दाबी यथावत् रह्यो ।

तर मन्त्री खतिवडाकै मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले संसदीय समितिमै खोप हराएको स्वीकार गर्नुभएको छ । कोरोनाविरुद्धको २४ लाख डोज खोप हराइरहेको भन्दै मन्त्रालयले छानविन समिति नै बनाएको छ ।

सचिव र प्रवक्ताले खोप हराएको पटक–पटक बताएपनि मन्त्री मान्नै तयार हुनुहुन्न । उहाँ भन्दै हुनुहुन्छ, खोप त हराएकै छैन । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । छानबिनको प्रक्रिया के कसरी अगाडी बढिरहेको छ भनेर बुझन जाँदा डा. लोहनीको कार्यकक्ष खाली थियो ।

छानबिन समितिकै प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्यालले आफुलाई सञ्चारमाध्याममा बोल्न अनुमति नभएको बताउँदै, ७ वटै प्रदेश, स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र , ७७ वटै जिल्ला स्वास्थ्य कार्यलय, ७ सय ५३ वटै स्थानीय तहहरुले २०७८ माग २१ गतेभित्र कोभिड बिरुद्धको खोपको मौज्दात र कोभिड १९ विरुद्धको लगाएका सबै ब्यक्तिहरुको विवरण पठाउन सूचना जारी गरिएको जानकारी दिनुभयो ।

हालसम्म सरकारले खरिद गरेको १ करोड २० लाख मात्रा खोप नेपाल आएको छ, त्यस्तै अनुदानबाट २ करोड ८३ लाख ८८ हजार ८ सय ४० डोज आएको छ । यसरी अहिलेसम्म ४ करोड ३ लाख ८८ हजार ८ सय ४० डोज खोप नेपाल आएको छ ।

खोप लगाउँदा एकदेखि डेढ प्रतिशत खेर जाने गरेको स्वास्थ्य विज्ञहरु बताउँछन । तर चार प्रतिशत खेर गएको मान्दा पनि १२ लाख मात्र कम हुनुपर्ने हो । त्योबाहेक २४ लाख ६६ हजार ८ सय ३२ मात्रा खोप नभेटिनु आश्चर्यजनक छ । मन्त्रीज्यू खोप त हराएकै हो । तर, किन मान्नुहुन्न कमजोरी ?