६ जेष्ठ २०८१, आईतवार

कमजोर शिक्षा प्रणालीका कारण प्रतिभाशाली विद्यार्थीहरू विदेशिने क्रम बढ्दो

student tia

उच्च शिक्षाका लागि देशमा भएका होनहार र प्रतिभाशाली विद्यार्थीहरु विदेशी मुलुकमा होमिनु वर्तमान अवस्थामा चिन्ताको विषय हो । देशका विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश पलाएन हुनु भनेको देश हरेक क्षेत्रबाट पिछडिनु हो ।

देशका बौद्धिक वर्ग अध्ययन गर्ने वहानामा विदेश जाने तर नफर्कने प्रवृत्तिले गर्दा नेपालको शिक्षा क्षेत्रमा धेरै हदसम्म असर परेको देख्न सकिन्छ । पछिल्लो समय प्लस टु सक्ने वित्तिकै उच्च अध्ययनका लागि विदेश जाने फेसन जस्तै बनेको छ ।

सरकारी र निजी क्षेत्रमा नेपालको शिक्षामा ठूलो लगानी भए पनि विद्यार्थीको वैदेशिक अध्ययन मोहमा भने कमी आउन सकेको छैन । पछिल्लो समय उच्च वर्गमा मात्र नभइ मध्यमवर्गीय परिवारमा पनि विदेश पढ्न जाने लहर बढेको छ ।

विदेश पढ्न जाने लहर बढेसँगै नेपालबाट ठूलो रकम पनि बाहिरि रहेको छ। नेपालको शिक्षा प्रणालीले अहिले न अभिभावकको बिश्वास जितेको छ न त विद्यार्थीको नै । भर्खर पढ्दै गरेका युवायुवतीहरुमा यस्तो छाप परेसँगै देशमा भएका बौद्धिक जनशक्ति पनि बाहिरिएको छन् ।

वैदेशिक अध्ययनका लागि जानेहरुले विषय अनुसार र बसोवाससहित कम्तीमा पनि १५ देखि २० लाख सम्म खर्च गर्ने गरेका छन् । विदेशमा लाग्ने पूरै खर्च नेपालबाट ल्याएर पढ्न सक्ने स्थिति एकदमै कम विद्यार्थीको मात्र हुने हुदाँ छात्रवृद्धि पाए मात्र सजिलो हुने गरेको छ ।

विदेशमा गएर उच्च शिक्षा हासिल गरेमा अन्तर्राष्टिय श्रमबजारमा बिक्न सकिन्छ भन्ने मनशायले विद्यार्थीहरुमा नराम्रो असर पारेको छ । विदेशमा गएर पढ्दै, कमाउँदै केही खर्च जुटाउने आशामा धेरै जसो विद्यार्थीहरु विदेशिने गरेका छन् ।

नेपालको शिक्षा प्रणाली कमजोर हुँदै गएको छ भन्ने यसैबाट पनि प्रष्ट हुन्छ । प्रतिभाशाली र दक्षहरुलाई नजरअन्दाज गरेर व्यक्तिगत नाताको आधारमा शिक्षाको जागिर खानेहरुले गर्दा पनि शिक्षा क्षेत्र मौलाउँदै गएको छ ।

कोरोना संक्रमणका कारण केही समय वैदेशिक पढाईमा रोक लगाइए पनि पुन: चलायमान हुन थालेको छ । गलत शिक्षा प्रणालीका कारण देशका युवाहरु पढ्नका लागि विदेशी मुलुकमा होमिनु भनेको चिन्ताको विषय हो ।

विदेश गएका अधिकांश विद्यार्थी उच्च शिक्षा हासिल गर्न भनेर गएका छैनन् । मूख्य रोजाइको देश अमेरिका र अष्ट्रेलियालाई हेर्ने हो भने आधाभन्दा सक्षम प्रतिभाशाली नेपाली विद्यार्थी उतै भेटिने गरेका छन् ।