८ बैशाख २०८१, शनिबार

सामुदायिक विद्यालयमा चरम बेथिती, शिक्षा सुधारमा वर्षेनी हुने अर्बौं लगानीको दुरुपयोग

student
फाइल फोटो

नेपालका ५३ लाख बालबालिका सामुदायिक विद्यालय पढ्छन् । तर तिनै विद्यालयको कमजोर व्यवस्थापनका कारण विद्यार्थीको सिकाई उपलब्धी राम्रो हुन सकेको छैन ।

शैक्षिक सुधारका लागि वर्षौंदेखि दातृ निकाय सहयोगमा सरकारले कार्यक्रम चलाइरहे पनि विद्यार्थीको सिकाईमा भने सुधार आउन सकेको छैन ।

शिशुदेखि १२ कक्षासम्मको पढाइ हुने २६ हजार सामुदायिक विद्यालयमा ५३ लाख विद्यार्थी छन् । निम्न र मध्यमवर्गीय परिवारका छोराछोरी अध्ययन गर्ने सामुदायिक विद्यालयको कमजोर व्यवस्थापन र शिक्षण सिकाइप्रति ध्यान नदिँदा विद्यार्थीको शैक्षिकस्तर पनि खस्किँदै गएको छ ।

सरकारले विद्यालय शिक्षामा मात्र वर्षेनी एक खर्बभन्दा बढी लगानी गर्दै आएको छ । विद्यालय शिक्षा स्थानीय तहको मातहतमा गएपछि आधारभूत तहको परीक्षामा एकरुपता हुन सकेको छैन ।

अर्कोतिर विद्यालयको नियमन र अनुगमनसमेत हुन छाडेका छन् । शिक्षकहरुले विद्यार्थीको पढाइ भन्दा राजनीतिक र अन्य काममा प्राथमिकता दिँदा विद्यार्थीको सिकाई कमजोर भएको अभिभावकको गुनासो छ ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गणित, विज्ञान, अँग्रेजी र नेपाली विषयको सिकाइ उपलब्धी मापन गर्दा कमजोर देखिएको छ । डेढ दशकदेखि विद्यालय शिक्षा सुधारका लागि विभिन्न परियोजना सञ्चालन भए पनि गुणस्तरमा भने सुधार आउन नसकेको स्वयम् शिक्षाका अधिकारीहरु स्वीकार्छन् ।

विद्यालय प्रशासनले विद्यार्थीलाई प्राथमिकता दिइ गुरुयोजना नबनाउने हो भने अझै पनि सामुदायिक शिक्षाको स्तर माथि उकास्न नसकिने विज्ञको बुझाइ छ ।

सामुदायिक विद्यालयमा शिक्षकको ठूलो अभाव छ । अर्कोतिर विद्यार्थी शिक्षक अनुपातमा दरबन्दी मिलानको काम टुंगिएको छैन ।

यसले पनि विद्यालय शिक्षामा अर्को समस्या थपिएको छ । जे होस् सामुदायिक शिक्षा सुधार र विद्यार्थीको सिकाइ उपलव्धिका लागि विद्यालय, अभिभावक र सरकार गम्भिर हुनु जरुरी छ ।